२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनासको बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुर्याउन पूर्वराजा शाहको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रह गर्नु भएको छ ।

 साेमबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले  यो वर्षको वर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवारविहिन भएको सुन्दा, देख्दा र बुझ्दा अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् भन्ने आग्रह समेत गर्नुभएको छ । । हाम्रो जस्तो  पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया भएको उल्लेख गर्दै उहाँले यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त  ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्ने उल्लेख गर्नुभएको छ  । 

पूर्व राजाले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने कामना गर्दै ईश्वरमा प्रार्थना समेत गर्नुभएको छ । उहाँले प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएका सबैको शीध्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ ।