काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
नेपाल विद्युत प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा– १२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो । सांसद शाही ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले सरकारले फरक विचार राखेकै आधारमा पक्राउ गरिरहेको भन्दै सरकारको विरोध समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जुन हिसावबाट त्यो घटना भएको छ त्यो दुर्घटना होइन त्यो हत्याका रुपमा दर्ज होस् । र ज्यान मार्ने उद्योगमा चाँही मुद्दा चलोस् । किनभने यसरी मान्छे मार्ने त्यो राज्य हुन सक्दैन । साथै म सरकारलाई भन्न चाहन्छु, नेपालको संविधानको धारा २७० पटक पटक पढ्नुहोला । त्यो धारा कसैको निगाहामा लेखिएको होइन । राप्रपाका ४० जना सांसदहरुको बहुमतका साथ यो धारा लेखिएको हो । त्यो धाराले के भन्छ ? फरक विचार राख्ने वित्तिकै मान्छेलाई जेल हाल्ने ? के नेपालका प्रधानमन्त्री, गृहमन्त्री र सरकार नेपालको संविधानभन्दा ठूलो हो ?’
उहाँले फरक विचार राख्न पाउने संवैधानिक अधिकार भएपनि सरकारले धरकपड गरिरहेको भन्दै सरकार संविधानभन्दा ठुलो हुन खोजेको आरोप समेत लगाउनु भयो ।










