३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा



अ+ अ-

सोलुखुम्बु । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुग्नुभएको छ ।

पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न आज उहाँहरु खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुग्नुभएको हो । दुवै मन्त्रीलाई लिएर गएको हेलिकप्टर बिहानै खुम्बु क्षेत्रमा अवतरण गरेको थियो ।

भ्रमणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताउनुभयो । उहाँले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र संयमित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढङ्गले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।” हालसम्म सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।

गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहनुभएको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी पर्यटनमन्त्री पाण्डेले सरकार नेपालको पर्यटन विकासमा गम्भीर रहेको बताउनुभयो । उहाँले सगरमाथा जस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गर्नुभयो । “हामीले हिमाल र हिमाली क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ, यसै सन्दर्भमा हामी आधार शिविरमा उपस्थित भएका छौँ र यहाँको समस्या उजागर गर्दै समाधानतर्फ उन्मुख हुनेछौँ”, मन्त्री पाण्डेले भन्नुभयो ।

सो अवसरमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । तीमध्ये आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख थिए ।

यस्तै कीर्तिमानी आरोही कामी रिता शेर्पालगायत प्रतिनिधिले सम्पर्क अधिकृतको सङ्ख्या बढाउन, खुम्बु क्षेत्रमा बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई पाँच वर्षको म्याद थप गर्नुपर्ने सुझाव राख्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले प्रस्तुत सुझावप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै सरकारका तर्फबाट व्यवसायी तथा स्थानीयको चासो र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस