११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मधेसलाई सूचना प्रविधिको हब बनाउन सकिन्छ’



अ+ अ-

धनुषाधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस–प्रदेशलाई सूचना प्रविधिको ‘हब’ बनाउन सकिने बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिबासमा आयोजित ‘डिजिटल मधेस कन्क्लेभ २०२५’ को पहिलो संस्करणमा उहाँले चालु आर्थिक वर्षको बजेटमै प्रदेशमा आइटी पार्कको योजना राखिएको र काम सुरु भइसकेको जानकारी दिनुभयो । “इनोभेसन सेन्टर, स्पेस सेन्टरको अवधारणा पनि बजेटमा समावेश भएको र विस्तारै काम अघि बढ्दैछ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री सिंहले सरकारी सेवा प्रणालीलाई कागजरहित बनाउने अवधारणा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पेपरलेस सिस्टम ल्याउने कुरा भाषणमा मात्रै सीमित हुनुहुँदैन, कार्यान्वयनमै जानुपर्छ ।

सूचना प्रविधिको युगमा युद्धसमेत प्रविधिमैत्री भइसकेको उल्लेख गर्दै उहाँले अब प्रविधिलाई कसरी अङ्गिकार गर्ने भन्ने विषय गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । केही समय अघि प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका निम्ति अस्पताल अनुगमनमा कडाइ गर्नुभएका उहाँ हाल शिक्षा सुधार अभियानमा लाग्नुभएको छ । गत सोमबारबाटै उहाँले सामुदायिक विद्यालय अनुगमन सुरु गर्नुभएको छ ।

उहाँले नेपालका दूरसञ्चार कम्पनीले ग्राहकलाई ठगिरहेको आरोपसमेत लगाउनुभयो । मधेस प्रदेशका आठ जिल्लामा ती कम्पनीले राम्रो सेवा दिन नसकेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री सिंहले नेपाली सूचना प्रविधि कम्पनीलाई विदेशी कम्पनीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको यस्तो सेवा छ, जुन एउटै भवनभित्र विभिन्न सेवा प्रदान गर्न सक्छ ।” उहाँले सूचना प्रविधिमा काम गर्ने कम्पनीलाई मधेसमा काम गर्ने वातावरण तयार पार्ने प्रयास भइरहेको जनाउनुभयो ।

कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेसमा सूचना प्रविधिको विकासका लागि सूचना प्रविधि प्रतिष्ठान तथा विज्ञान प्रविधि अध्ययन केन्द्र स्थापना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले ‘डिजिटल मधेस’ का लागि पाँच डी (डिजिटल, डायस्पोरा, डेमोग्राफी, डिसेन्ट्रलाइजेसन, डेमोक्रेसी)बीच सन्तुलन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधि तथा ज्ञान हस्तान्तरणका लागि विदेशी विश्वविद्यालयसँग सहकार्य, तथ्याङ्क सुरक्षा र नागरिकलाई प्रविधिमैत्री बनाउन डिजिटल साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूचना प्रविधि विज्ञ विवेक राणाले ‘मधेस कसरी डिजिटल बन्न सक्छ’ भन्ने विषयमा कार्यपत्र प्रस्तुित गर्नुभएको थियो । आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले कार्यक्रमले प्रदेश सरकारको आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्दा प्रविधिमैत्री गरिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको आयोजना मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले गरेको हो ।  रासस