२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मारवाडी समुदायद्वारा एक करोडलाई आर्सेनिक एल्बम ३०–सी निःशुल्क वितरण



अ+ अ-

काठमाडौं । मारवाडी समूदायले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी आर्सेनिक एल्बम ३०–सी नेपालमा अहिलेसम्म एक करोड मानिसलाई निःशुल्क वितरण गरेको छ । र, आगामी दिनमा सबैमा यो औषधी पुर्याउनेगरि तयारी गरिरहेको पनि मारवाडी सेवा समिति र नेपाल राष्ट्रिय मारवाडी परिषदका पदाधिकारीहरूले जानकारी दिएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनीहरुले यस्तो जानकारी गराएका हुन् । उक्त औषधी भारतलगायत अन्य देशबाट ल्याउने गरिएको छ। साक्षात्कारमा नेपाल राष्ट्रिय मारवाडी परिषदको अध्यक्ष तथा मारवाडी सेवा समितिका पूर्व अध्यक्ष पवन मित्तलले मारवाडी सेवा समितिको ईतिहासको बारेमा प्रकाश पार्दै समितिले विभिन्न सामाजिक काम गर्दै आएको जानकारी गराएका थिए । 
विश्वभरि फैलिएको कोरोना महामारीको बेलामा कसरी सेवा गर्ने भनेर बसिरहेको अवस्थामा होमियोपेथिक चिकित्सकहरुको आग्रहअनुसार आफूहरुले यो औषधी वितरण गरिरहेको पनि मित्तलले स्पष्ट पारे । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले बनाएको प्रोटोकलमा यो औषधीको नामपनि परेको र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा उल्लेख गरेकोले आफूहरुले यो अभियान सुरु गरेको उनको भनाई छ । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,“मारवाडी सेवा समितिमार्फत खर्च व्यहोर्ने काम भैरहेको छ । अहिलेसम्म सबैबाट धेरै राम्रो प्रतिक्रिया आएका छन् । पूराना रोगहरुलाई समेत यो औषधीले फाईदा भएको भनेर प्रतिक्रिया आईरहेको छ ।” उनले औषधीको मागअनुसार आफूहरुले पूर्ति गर्नेगरि काम गरिरहेको पनि जानकारी दिए । उनकाअनुसार अहिलेसम्म देशभरि ७७ वटै जिल्लामा यो औषधी पुगिसकेको छ । 

त्यस्तै, कार्यक्रममा मारवाडी सेवा समितिका महासचिव महादिर घिरैयाले उक्त औषधी अहिलेसम्म कसरी वितरण भैरहेको छ भन्नेबारे जानकारी गराएका थिए । उनले देशभरि रहेका ३८ वटा मारवाडी सेवा समितिमार्फत औषधी वितरण कार्य भैरहेको जनाए । त्यसमा स्थानीय तहहरु र सामाजिक संघ÷संस्थाहरुले सहयोग गरिरहेको उनले जनाए । औषधी वितरणको लागि देशभरि ७० वटा डिपो खोलिएका छन् ।  
कार्यक्रममा मारवाडी सेवा समितिका पूर्व महासचिव तथा मारवाडी परिषदका उपाध्यक्ष कैलाशचन्द्र गोयलले संक्रमण देखिएपछि नेपाल वायु सेवा निगमका चालकहरुले पनि उक्त औषधी खाएको स्पष्ट पारे । यसको अलावा सुरक्षा निकायले पनि औषधी लगेका छन् । उनले भने,“सुरक्षा निकायले पत्राचार नै गरेका थिए । उहाँहरुले पनि औषधी लग्नुभएको छ । कोभिड–१९ को युद्धको अग्रमोर्चामा खटिने कर्मचारीहरु खासगरी अस्पतालका कर्मचारी, सफाई कर्मचारीहरुले पनि यो औषधी खाएका छन् ।”

कार्यक्रममा होम्योप्योथिक चिकित्सकहरु डा. अम्बिका ज्ञवाली, डा. कमल चित्रकार र डा. बलराम किसीले यो औषधीको महत्वको बारेमा प्रकाश पारेका थिए । डा. ज्ञवालीले यो औषधी आजको औषधी नभई २२५ वर्ष पूरानो भएको सुनाएका थिए । उनले भने,“यी औषधीहरु संसारमा भएका ठूला ठूला महामारीमा प्रयोग भैसकेका छन् । र यसले राम्रो नतिजा दिएको छ । त्यही भएर हामीले यो औषधी नेपालमा वितरण गरेको हो ।”

डा. कमल चित्रकारले यो औषधीमा कुनै साईड ईफेक्ट नभएको सुनाए । उनले भने,“आजसम्म नकारात्मक खबर आएन् । धेरै डिमाण्ड आईरहेको छ ।”उनले उक्त औषधी सेवनको लागि प्रोत्साहन गरेका थिए । 

डा. बलराम किसीले कोरोनाको महामारी विश्वव्यापी फैलिरहेको अवस्थामा आफूहरुले यसमा कसरी सेवा गर्न सकिन्छ ? भनेर विश्वभरिका होमियोप्योथिक चिकित्सकहरुसँग जुममार्फत सल्लाह गरेर यो औषधी खुवाउनुपर्ने सल्लाह गरेर नै नेपालमा पनि वितरण गरिएको जानकारी दिए । भारतको आयुष मन्त्रालयले पनि उक्त औषधीलाई प्रयोग गरिरहेको उनले जनाए । 

२०७७ वैशाख २८ देखि नेपालमा वितरण हुँदै आएको यो औषधी दिनको ३ लाख व्यक्तिलाई पुग्नेगरि प्याकिङ्ग भैरहेको मारवाडी सेवा समितिले जनाएको छ । आर्सेनिक एल्बम ३०–सी मा सल्फर, मक्र्युरी, आर्सेनिक जस्ता तत्वहरू पाइन्छन् । औषधीले विशेषगरी दम र क्यान्सर पीडित विरामीहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । विभिन्न रोगहरूका करिब १०६० लक्षणहरूलाई यसले निको पार्ने कमल चित्रकारको दाबी छ । श्वाँसप्रश्वासमा कठिनाइ भएका मानिसहरूका लागि यो औषधी अमृत बन्न सक्छ । घुँडा दुख्ने समस्याको निदानमा यो निकै उपयोगी छ ।