महोत्तरी। वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताउनुभयो । “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ साउनमा बढी हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो ।
केन्द्र सञ्चालन भएयता विगत १० वर्षको तथ्याङ्कअनुसार साउनमा बढी पानी परेकाले सर्पको बिगबिगी पनि बढ्छ । यहाँ २०७१ साउन ३१ गते स्थानीयको पहलकदमीमा सर्पदंश उपचार केन्द्र स्थापना भएको हो । नेपाली सेनाको गौरीडाँडास्थित रेडियो नेपाल सुरक्षा वेसमा खटिएको नेपाली सेनाको क्याम्पले उपचारकार्यका लागि तालिम प्राप्त ६ दक्ष प्राविधिकलाई केन्द्रमा खटाएको छ । व्यवस्थापन भने सर्पदंश उपचार केन्द्र बर्दिबासको कार्यसमितिले गर्दै आएको छ ।
वर्षेनी सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयको पहलकदमीमा संस्था नै दर्ता गरेर उपचार प्रबन्ध थालिएको हो । “प्रारम्भमै नेपाली सेनासँग उपचार गर्ने प्राविधिक टोली माग ग¥यौँ, सैनिक मुख्यालयले नै प्राविधिक टोली उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उपचार थालिएको हो”, केन्द्र सञ्चालनको व्यवस्थापन गर्ने कार्यसमितिका अध्यक्ष कृष्ण देवकोटा भन्नुहुन्छ, “प्रतिबद्धताअनुसार सेनाको साथ पाएपछि केन्द्रलाई व्यवस्थित गरेका छौँ ।
केन्द्रले २०७१ साउन ३१ यता हालसम्म ३१ हजार १४७ जनाको उपचार गरिसकेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा ३० हजार ८४७ जनाको तथा चालू आव २०८१/८२ को हालसम्म ३०० जनाको केन्द्रले उपचार गरेको छ । वैशाख महिनाको हालसम्ममा मात्र ४७ जनाको उपचार गरिएको प्राविधिक टोली प्रमुख चौधरीले बताउनुभयो ।
केन्द्रमा महोत्तरीका अतिरिक्त सिन्धुली, सर्लाही, धनुषा, रामेछापलगथायतका जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन् । केन्द्रले औषधि, कार्यालय सञ्चालन र व्यवस्थापनको चाँजोपाँजो मिलाउने र नेपाली सेनाले उपचार गर्ने दक्ष प्राविधिक टोली उपलब्ध गराएपछि उक्त सेवाले निरन्तरता पाउँदै आएको छ ।
“नजिकमा भरपर्दो उपचार पाएर नयाँ जीवन पाइयो”, गोमन सर्पले डसेर केन्द्रमा उपचार गराइरहनुभएका गौशाला–१ रामनगरका ४२ वर्षीय सुरेशकुमार महतो भन्नुहुन्छ । आर्थिक वर्ष २०८०/८१ मा ८८४, आव २०७९/८० मा ८७८, आव २०७८/७९ मा दुई हजार ९३१, आव २०७७/७८ मा चार हजार १९१, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० तथा आव २०७१/७२ मा तीन हजार १२८ सर्पदंशका बिरामीले उपचार लिएका केन्द्रले जनाएको छ । रासस










