२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै सोधभर्ना नगर्ने प्रवृत्तिले असार मसान्तमा खर्चको आकार बढ्यो : अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धीत आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताउनु भएको छ ।  

प्रतिनिधिसभाको अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित हुनुभएका अर्थमन्त्री खतिवडाले भुक्तानी दावी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताउनुभयो ।

उहाँले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोधभर्ना नलिने नै रहेको दावी गर्नुभयो । उहाँले आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिदा असार मसान्तमा खर्च बढी देखिएको बताउनुभयो । उहाँले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको जानकारी गराउनुभयो ।

असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको स्पस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखहरुले समयमा दावी गर्नुहुन्न, सोधभर्ना लिनुहुनन्न । सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ । सोधभर्ना पनि फेरि जेठ असारमा धेरै आउँछ । असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि त्यहि देखिन्छ र खर्च पनि त्यहि देखिन्छ ।’

अर्थमन्त्री खतिवडाले राजश्व पनि असार मसान्तमा धेरै उठने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताउनुभयो । बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसार खरिदमा विवेक र ढंग पुर्याउन नसके विवादमा पर्न सक्ने भएकाले पनि खर्चका प्रक्रियाहरुमा कठिनाई र ढिलाई हुने गरेको बताउनुभयो ।

बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायतका परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो । उहाँले परिसूचकहरुमा मात्रै छलफल गर्न आफु तयार रहेको बताउनुभयो ।

उहाँले जनताले अपेक्षा गरेका सबै कुरा पुरा नभएपनि धेरै विषयहरु पुरा हुने भएकाले मतदाता समक्ष भन्न सक्ने आधार खडा हुने भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले बेरुजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि आग्रह गर्नुभयो । प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्वीकार योग्य नै रहेको बताउनुभयो । उहाँले बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोच्न आग्रह गर्नुभयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा नियमित रुपमा समस्या भएको र यो अध्ययनको विषय भएको बताउनुभयो । उहाँले जनशक्ति नभएर, सामथ्र्य नभएर वा स्रोत नभएर खर्च हुन नसकेको भन्ने विषयमा स्वतन्त्र अध्ययन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले खर्च गर्ने सामथ्र्य नै नराखेकोले देश बन्ने सम्भावना पनि नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खर्च गर्ने सामर्थ्यकाे सन्दर्भमा पनि यो नियमित रुपमा समस्या छ । हामीले पैसाको स्रोतको अभाव छैन भन्छौ तर पैसा खर्च हुँदैन । खर्च नहुने कारणहरुको बारेमा पनि खोजीनिति भएको छैन । यसको समाधानका निम्ति पनि यथोचित प्रयास भएको छैन । अरु देशहरुले काम गर्ने सामर्थ्य देखाएरै अघि बढीराखेका छन् ।’

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यस अघि दिएका निर्देशनहरु अर्थमन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बजेट खर्चमा पनि सरकार गम्भिर नभएको बताउनुभयो ।

उहाँले सबल समयमा सबल अर्थतन्त्रको जिम्मेवारी पाउनुभएका अर्थमन्त्रीको काम गर्ने प्रवृतिले अर्थतन्त्रमा चुनौति थपिएको बताउनुभयो । भ्रटाचार बढ्दै गएको तर सरकार गम्भिर नभएको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो ‘एउटा सबल समयमा सबल अर्थतन्त्र उहाँको हातमा थियो । तर त्यसलाई उहाँले एउटा स्वेत पत्र जारी गर्नुभयो । स्वेतपत्र जारी गरिसकेपछि हामीलाई पनि लागेको थियो यो तीनवटा बजेट अहिले कोभिडको म कुरा गर्दिन दुईवटा बजेट आउँदा मुलुकले फड्को नै मार्ला जस्तो लागेको थियो । म तथ्याङ्कतिर जान चाहन्न तर मुलुकले केही फड्को मार्न सकेको छैन । झन अनियमितता बढेर गएको छ । भ्रष्टाचार बढेको छ । हरेक चिजमा अहिले मान्छेहरु भ्रष्टाचार गरिरहेका छन् । विश्वसनियतामा ह्रास आएको छ ।’

बैठकमा सांसदहरुले विज्ञ अर्थमन्त्री भएर पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना गरे । उनीहरुले सरकारका कामकारबाही हेदा अवको चुनावमा मतदातालाई के भन्ने चिन्ता बढ्दै गएको बताए । उनीहरुले सरकारी खर्च बढाएर विकास निर्माणका कामलाई तिब्रता दिन सरकार गम्भिर नभएको बताए ।