२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य : अध्यक्ष प्रचण्ड



अ+ अ-

धरान, वैशाख २८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गर्नुभएको छ।

धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै, यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।

उहाँले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गर्नुभयो। “शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तै थियौं भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमिक्षा गरिएको छ,” उहाँले भन्नुभयो, “अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौं।”

सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न कोशिस गरेको बताउँदै उहाँले समावेशी पूर्वाधार विकास अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराउनुभयो। त्यस्तै, भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको उहाँले बताउनुभयो।

तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, “मैले छानबिन गर्दा आफूविरुद्ध पनि अनुसन्धानको सुई देखापरेको खण्डमा मलाई पनि नछोड्नू भनेर अनुसन्धामा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ। भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा मैले आफ्नो अर्को कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचाविरुद्ध निर्मम अभियान अघि बढाएको थिए।”

उहाँले सोही कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिएको, मिटरव्याजको समस्याको समाधान गर्न पहल गरिएको र आर्थिक सुधारको दिशामा महत्वपूर्ण काम भएको जानकारी दिनुभयो। आफुले अगाडि सोको सामाजिक सुरक्षा योजनामा अहिले विदेशमा रहेका १५ लाखभन्दा बढी नेपाली समेटिएको र यस योजनालाई निजी क्षेत्रसम्म विस्तार गर्ने तयारी आफु नेतृत्वको सरकारको रहेको उहाँले बताउनुभयो ।

दलाल र पुँजीपति समूहले जनताको पक्षमा काम गरिरहेको आफु नेतृत्वको सरकार हटाएर भ्रष्ट र बिचौलिया पक्षमा काम गर्ने सरकार बनाएको उल्लेख गर्दै लगाउँदै, “माओवादी बलियो नबनिएसम्म उत्पीडित वर्ग, पहिचानको मुद्दा र जनताको आवाज कमजोर हुन्छ,” उहाँले भन्नुभयो।

पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।

“मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,” उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गर्नुभयो।