४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

नेता कमरेडहरु ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ – प्रदीप ज्ञवाली

नेता कमरेडहरु ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ  – प्रदीप ज्ञवाली
अ+ अ-

विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ ।  विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भनेझै हुने त होइन ? यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ । हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ ।

नेता कमरेडहरु ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्र्ताहरुको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ । अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ । कुनै पनि निर्णय गर्नु अघि कमरेडहरुलाई यस यथार्थलाई मनन गरिदिनु हुन आग्रह गर्दछु ।

नेता कमरेडहरु ! ३१ महिना अगाडि हामी जनतासमक्ष पुगेका थियौँ, मुख्यतः दुईवटा प्रतिवद्धता लिएर । हामीले भनेका थियौँ– हामीलाई मत दिनुहोस्, हामी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्छौ । हामीलाई मत दिनुहोस्, हामी मुलुकलाई समृद्धि दिन्छौँ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को हाम्रो आह्वानमाथि भर परेर, विश्वास गरेर, जनताले हामीलाई अपार मत दिनुभयो । सामान्य बहुमत होइन, सुविधाजनक बहुमत मात्रै पनि होइन, झण्डै दुई तिहाई मत दिनुभयो । सम्झौँ ती मतदाताहरुलाई, जसले उज्यालो नहुँदै मतदान केन्द्रमा पङ्क्तिवद्ध भएर, पालो कुरेर मत खसाउनु भयो । सम्झौँ ती मतदाताहरुलाई, जसले खाली खुट्टा शीत टेक्दै आएर मत खसाउनु भयो ।

सम्झौँ ती मतदाताहरुलाई, जसले विमारी भएको अवस्थामा स्ट्रेचरमा बोकिएर, आशौच बसेको अवस्थामा आफन्तको मृत्यु वियोग बिर्सेर, वृद्धावस्थामा लौरो टेकेर, सुत्केरी अवस्थामा अत्यन्त ठूलो जोखिम व्यहोर्दै हामीलाई विश्वास सुम्पिनुभयो । हाम्रो पक्षमा खसेका मतहरु कागजका टुक्राहरुमात्रै थिएनन्, हामीलाई जनताले दिएको विश्वासका तमसुक थिए, आफ्नो भविष्य सुरक्षित हुने ठानेर गरिएका भरपाइ थिए । कुनै पनि निर्णय गर्नु पूर्व एक पटक ती मतदाताहरुको आँखामा छचल्किएको उज्यालो सपना र कथम् कदाचित् कुनै अप्रिय दुर्घटना भयो हुने त्यसका कारण ती सपनाहरु भङ्ग हुँदा भरिने निराशा र विषादका आँशुहरु सम्झिनुहोस् ।

नेता कमरेडहरु ! हाम्रो यात्रा त भर्खर सुरु भएको छ । राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौँ, त्यो पनि अझै अधुरो– अधुरो र कमजोर छ । यी उपलव्धीको जगमा उभिएर जनतालाई सामाजिक न्याय सुनिश्चित गर्न बाँकी नै छ । समृद्धिको जग मात्रै बसालिएको छ, भवन खडा गर्न बाँकी नै छ । समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ, त्यो पनि निकै धिमा गतिमा । यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिदहरुका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ । परिवर्तनका लागि भएको आन्दोलन र क्रान्तिका घाइते योद्धाहरुको शरीरबाट गोली र छर्रा निकाल्नै बाँकी छ, बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ । वेपत्ता व्यक्तिकी आमाको आँखामा हर साँझ पर्खिबस्ने अनुत्तरित प्रश्नहरुलाई संवोधन गर्न बाँकी नै छ । आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाहरुको अन्यौलग्रस्त भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ ।

अब त देशमै रोजगारी पाइन्छ कि, अब त प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गनेर बसेका लाखौँ लाख प्रवासीहरुको मनमा विश्वास भरिदिन बाँकी नै छ । नेताहरु भन्नुस् त– यी सबै कामहरु अधुरै छाडेर, मानौँ गन्तव्यमै पुगिसकियो, अब कुनै जोखिम छैन भनेर , कहिले पदका विवादमा त कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन हामीलाई छुट छ र ? कुनै पनि निर्णय गर्नु पूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरुलाई हेरेर , यी  प्रश्नहरुमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु ।

नेता कमरेडहरु ! मुलुकमाथि वहुआयामिक सङ्कटहरु थपिँदै छन् । विश्वव्यापी रुपमै मडराइरहेको दक्षिणपन्थी आँधीहुरीले हाम्रो समाजवादी आन्दोलन र भविष्यमाथि चुनौती खडा गरिरहेको छ । हामीले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएका छौँ, यससँगै यसलाई कमजोर गर्ने, मुलुकमा पुनः अस्थिरता सिर्जना गर्ने, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति अझ बढी आक्रामक र हस्तक्षेपकारी हुने निश्चित छ । विभिन्न कारणले बढेको जनताका अपेक्षा र हाम्रो कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई संवोधन गर्न सकिएन भने त्यसले थपिदिने सङ्कट पनि हाम्रा सामु छ । हाम्रो युगकै सबैभन्दा गंभीर स्वास्थ्य चुनौती र आर्थिक धक्का  बोकेर आएको कोरोना महामारीले निम्त्याउने वहुआयामिक सङ्कटको सामनाको तयारी गर्नु बाँकी नै छ । आँखै अगाडिका यी चुनौतीलाई नदेखे झँै आँखा चिम्लेर या केही होइन झैँ गरेर विषयान्तर गर्ने सुविधा हामीलाई छैन । कुनै पनि निर्णय गर्नु अगाडि सम्मुख मडारिरहेको सङ्कटलाई गंभीरतापूर्वक नियाल्नु र विचार गर्नु हुन अनुरोध गर्दछु ।

नेता कमरेडहरु ! आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक समस्या होइन, व्यवस्थापनको समस्या हो, त्यो पनि शीर्ष नेतृत्वको । पार्टीका सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबीच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका पनि दिइरहेको छैन । हाम्रा बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरदारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ । अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान छ । तपाइँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलव्धीहरु उभिएका छन् । पार्टी र राज्यका उच्च ओहदामा तपाइँहरुको अवस्थितिप्रति  सहमति छ ।

तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न वाध्य हुनु पर्ने छ । यसो भयो भने इतिहासले तपाईहरुका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिँजोको तपाईहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ? कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ ।

नेकपा स्थायी समिति सदस्य एबं परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको फेसबुक बाट