२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री प्रकाशमानकी दिदी रितासहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर



अ+ अ-

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनामा प्रकरणमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदीसमेत रहेकी नेपाल बाल संगठनका अध्यक्ष रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले वैद्यसहित संगठनका तत्कालीन पदाधिकारी र बृहस्पति विद्या सदनका पदाधिकारीहरूलाई विपक्षी बनाएर आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिवहरू गणेशभक्त श्रेष्ठ, श्यामकुमार आले, सुवासकुमार पोख्रेल, प्रचण्डराज प्रधान र रामकाजी गुरुङ कोनेविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

त्यस्तै तत्कालीन सञ्चालक समिति सदस्य कृष्णशंकर साह, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, उप–कोषाध्यक्ष दीपकदास श्रेष्ठ, बृहस्पति विद्या सदनका सञ्चालक प्रविणराज जोशी, बृहस्तपतिकै तत्कालीन सञ्चालक मुरारीनिधि तिवारी, बृहस्पतिकै तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, बृहस्पतिका व्यवस्थापक श्रद्धा संघाईखविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यसैगरी बृहस्पतिका तत्काली सञ्चालकत्रय अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयविरुद्ध मुद्दा दायर गरिएको छ । सिंघानिया, केडिया र पाण्डेय भने भारतीय नागरिक हुन् ।

सरकारी वकिल कार्यालयले साविक मुलुकी ऐनको ठगी महल, मुलुकी अपराध संहिता–२०७४ को ठगीसम्बन्धी कसुर लगाएको छ । मुलुकी ऐनको ठगीसम्बन्धी महल नम्बर ४ मा ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम र बिगो कायम नभएमा ५ हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै मुलुकी अपराध संहिताको दफा २४९ मा ठगी गर्न नहुने प्रावधान रहेको छ । अभियुक्तहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा २४९ अनुसार नै ७ वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

अभियोगपत्रमा नेपाल बाल संगठनलाई ठगी गरी हानी नोक्सानी पुर्‍याएको बिगो ६० करोड ३९ लाख ७७ हजार २ सय ३१ रुपैयाँ पाँच पैसा भराउन मागदाबी गरिएको छ ।

बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तानिएका बृहस्पतिका तत्कालीन अध्यक्ष चिरन्जीवी तिवारी, बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र तत्कालीन उपमहासचिव सुमन शाक्यको मृत्यु भइसकेकाले उनीहरूको हकमा मुद्दा नचलाउने निर्णय भएकाले कसुरको दाबी लिइएको छैन ।

अनाथ बालबालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमै सरकारले बाल मन्दिरका नाममा कायम गरेको जग्गा बाल संगठनले २०४९ सालमा बृहस्पतिलाई भाडामा दिएको थियो । सम्झौताको म्याद पटक–पटक थप्ने क्रममा २०७२ मा पूरक सम्झौता गरेर २१३१ सालसम्म ‘लिज’ अवधि लम्ब्याइएको थियो ।

बाल संगठनकै निवेदनअनुरूप प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिनामिनासम्बन्धी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा केही महिनाअघि बुझाएको थियो । त्यही प्रतिवेदनअनुसार ठगीमा मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेको हो ।