
काठमाडौँ । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई ४–३ गोलले हराउँदै समग्रमा ७–६ को नतिजासहित इन्टरले फाइनलमा स्थान बनाएको हो ।
इन्टरको घरेलु मैदान सान सिरोमा निर्धारित समयसम्म खेलमा दुबै टोलि बराबरीको अवस्थामा रहँदा खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको २१ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा हाकन काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २–० ले अघि बढाए । यता, ५४ औं मिनेटमा एरिक गार्सियाले र ६० औं मिनेटमा डानी ओल्मोले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । ८७ औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना ३–२ ले अघि बढ्यो ।
त्यसबेला बार्सिलोनाको जित पक्कापक्की भइसकेको थियो । तर, इन्जुरी समयमा फ्रान्सिस्को अकेर्वीले गोल गर्दै इन्टरलाई ३–३ को बराबरीमा ल्याउँदै इन्टरको सम्भावना कायमै राखे । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।
९९ औं मिनेटमा डेभिड फ्राटेसीले गोल गर्दै इन्टरलाई ४–३ ले अगाडि बढाए । १२० औं मिनेटसम्म उनको गोलले नै काम गर्यो र इन्टरलाई फाइनलको यात्रा दिलायो ।
अब इन्टरले फाइनलमा आज राति हुने पिएसजी र आर्सनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।