५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

विश्व कीर्तिमान कायम गर्दै ‘लन्डन म्याराथन–२०२५’

विश्व कीर्तिमान कायम गर्दै ‘लन्डन म्याराथन–२०२५’
अ+ अ-

लन्डन । हालसम्मकै धेरै सहभागीले दौड पुरा गरेर विश्व कीर्तिमान कायम गरेको लन्डन म्याराथनमा आगामी वर्ष सन् २०२६ को दौडका लागि यसवर्ष भन्दा बढीले नाम दर्ता गराएका छन् ।

यस वर्ष निर्धारित ४२ किमी दूरी हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६४० जनाले पूरा गरेर नयाँ कीर्तिमान बनेको केही दिन नबित्दै आगामी वर्षको लन्डन म्याराथनमा सहभागिता जनाउन चाहनेहरुको सङ्ख्याले नयाँ कीर्तिमान कायम गर्ने  आयोजक लन्डन म्याराथन इभेन्ट्सका प्रमुख कार्यकारी ह्यू ब्राशरले बताए ।

आगामी वर्षका लागि गत शुक्रबार आवेदन दिन सकिने अन्तिम दिन ११ लाख ३३ हजार ८१३ जनाले नाम दर्ता गराएका छन् । हालै सम्पन्न म्याराथनमा विश्वभरबाट आठ लाख ४० हजार ३१८ जनाले सहभागिताका लागि नाम दर्ता गरेका थिए । त्यसमध्ये १०० भन्दा बढी नेपाली सहभागी थिए ।

आफ्नै कीर्तिमानी तोड्दै ‘गोल्डेन गर्ल ’

लन्डन म्याराथनमा सहभागीमध्येकी एक थिइन्, नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ । नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ का नामले परिचित उनले पहिलो पटक लन्डन म्याराथनमा सहभागिता जनाउँदै नयाँ कीर्तिमान कायम गरिन् । श्रेष्ठले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् ।

सन्तोषीलाई लन्डन म्याराथनमा दौडिन लाग्दा आफू भीडमै हराएर अल्मलिएको र बाटो नपाएको जस्तो अनुभव भएको थियो । सयौँ  धावकसँग दौडिएको अनुभव भए पनि लाखौँको भीडमा पहिलो पटक दौडिँदा अत्यास लागेको उनले बताइन् । उनले भनिन्, “सुरुमा त बेकार आएछु । आफ्नै रेकर्ड सुधार गर्ने लक्ष्य पूरा नहुने भयो भन्ने लागेको थियो ।”

सुरुका एक घण्टा आफू अन्योलमै परेको र त्यसपछि प्रदर्शन राम्रो  भएको उनले बताइन् । “जति मानिस भए पनि मैले मेरो काम पूरा गर्नुपर्छ, मेरो र देशको नामका लागि मैले राम्ररी दौड पूरा गर्नुपर्छ भन्ने लागेर सम्हालिएर दौडिएँ”, उनले भनिन् ।

सन्तोषीले पहिलो पटक पेरिस ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाउँदाको क्षण स्मरण गरिन् । ती दुई म्याराथनको अनुभव आकाश पातालको फरक रहेको उनले सुनाइन् ।

लन्डन म्याराथनको ‘फिनिस लाइन’ पूरा गर्ने बेला ‘ट्र्याक’ पाउनसमेत कठिन भएको उनको अनुभव रह्यो । तर, दौड पूरा गर्ने बेलामा आयोजकले आफ्नो नाम लिँदै राष्ट्रिय कीर्तिमान तोडिएको सुनाउँदा भने आफू खुसीले स्तब्ध भएको बताइन् । “विश्वका लाखौँ मानिस सहभागी प्रतियोगितामा आफ्नो र देशको नाम सुन्दा गर्वले छाती ढुक्क फुलेको क्षणको वर्णन गर्ने शब्द नै छैन,” उहाँले भनिन् ।

सन् २०२४ मा बङ्गबन्धु अन्तरराष्ट्रिय म्यारथनमा सन्तोषीले ढाकामा २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । पुष्पा भण्डारीका नाममा रहेको २ घण्टा ४८ मिनेटको राष्ट्रिय कीर्तिमान तोडेकी सन्तोषीलाई पहिलो म्याराथनको त्यही कीर्तिमानी प्रदर्शनले पेरिस ओलम्पिकको ढोका खोलेको थियो ।

पेरिस ओलम्पिकमा निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेकी सन्तोषी  २८ वर्षपछि ओलम्पिकको महिला म्याराथनमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी थिइन् । पेरिस ओलम्पिकसँग लन्डन ओलम्पिकको तुलना गर्दै सन्तोषीले भनिन्,  “हरेक खेलाडीलाई जस्तै मलाई पनि ओलम्पियन हुन पाए भन्ने हुन्थ्यो । त्यो  प्राप्त गरेँ । “नेपाल रन युके’को सहयागले लन्डन म्याराथन पनि दौडिन पाएँ, यो नितान्त फरक अनुभव हो ।”

विश्वका सबै ठूला म्याराथनमा सहभागी भई नयाँ पुस्तालाई प्रेरणा दिने र विभागीय टोलीमा आबद्ध नभए पनि  खेलकुदमा केही गर्न सकिन्छ भन्ने सन्देश दिने चाहना उनको छ । सन् २०१९ मा काठमाडौँमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)बाट पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी सन्तोषीले १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन् । भारतकी खेलाडीलाई १० मिली सेकेन्डले उछिनेर उनले स्वर्ण उचाल्नु पहिले नेपाली महिलाले एथ्लेटिक्समा अन्तरराष्ट्रिय स्वर्ण जितेको थिएन ।

उनले राष्ट्रियस्तरका दर्जनौँ म्याराथनमा उपाधि जितेकी छन् । नेपाल रन युकेको आर्थिक सहयोगमा लन्डन म्याराथनमा दौडिएर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषीले नेपाली फर्किनु अघि रासससँग भनिन्, “लन्डन म्याराथनका विजेताहरुलगायत धेरै अन्तरराष्ट्रिय धावक र प्रशिक्षकहरुसँग भेट भयो कुराकानी भयो । तिमीले धेरै सुधार गर्न सक्छौ भनेर सबैले प्रोत्साहन दिनुभयो । यो नै मेरा लागि ठूलो सफलता हो ।”

नेपाल रन युकेका संस्थापक सन्तोष राईले पनि नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् ।  उनले दुई घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरे । नेपाल रन युकेको संयोजनमा भाग लिएका सबै ९६ जनाले निर्धारित दूरी पूरा गरेका थिए । तर नेपाल रन युकेको संयोजनबाहेक पनि नेपालीहरु लन्डन म्याराथनमा सहभागी भएका थिए ।

यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै उपाधि विजेता बने भने इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनिन् ।