२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारबाट क्रमिक रुपमा वर्षा कम हुने



अ+ अ-

काठमाडौं । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ ।  

हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराका घटनाहरु बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताउनुभयो । 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताउनुयो । विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिमिलिटर पानी परेको छ । 

मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ । विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ । नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक सरजुले बताउनुभयो । आज सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो । 

आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले बाढीको पूर्व सूचना समेत प्रदान गरिरहेको छ । मनसुन सुरुभएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएस मार्फत पूर्व सूचना दिइएको विभागले जनाएको छ ।