
एजेन्सी । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताउनुभएको छ ।
“घाइतेमध्ये छ जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको थियो,” सावन्तले पत्रकारसँग भन्नुभयो । उहाँले अस्पतालको अनुगमन गर्दै मृतक वा घाइतेका परिवारलाई सक्दो सहयोग गर्ने बताउनुभएकोृ छ ।
गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् । उहाँले भन्नुभयो, “पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपतकालीन कक्षमा उपचार भइरहेको छ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना प्रकट गरेको छ । लैराई जात्रा गोवामा एक प्रमुख हिन्दू उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ ।
भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् । यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।