
काठमाडौँ। गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गर्नुभएको छ ।
नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरुद्ध रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताउनुभयो ।
सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । नेपाल–भारतबीचको सम्बन्ध दृढ छ”, उहाँले भन्नुभयो, “कुनै पनि विषयले मित्रवत सम्बन्धमा असर पर्दैन ।
उहाँले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गर्नुभयो । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गर्नुभयो । रासस