२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्होलासोंथरको पुरातात्विक अध्ययन गरिने



अ+ अ-

गण्डकी । गुरुङ जातिको ऐतिहासिकस्थल क्होलासोंथरमा पुरातात्विक अध्ययन गर्ने तयारी गरिएको छ । गुरुङ समुदायको उद्गमस्थलका रुपमा रहेको क्होलासोंथरको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्ने सोचका साथ तमु प्ये ल्हु सङ्घको सक्रियतामा यहाँको पुरातात्विक अध्ययन गर्न लागिएको हो ।

गुरुङ समुदायको बाहुल्यता भएको गण्डकी प्रदेशको कास्की र लमजुङ जिल्लाको सीमामा क्होलासोंथर पर्दछ । विसं २०५८ मा क्याम्ब्रिज युनभर्सिटी, तमु प्ये ल्हु सङ्घ र पुरातत्व विभागको संयुक्त प्रयासमा यहाँको पुरातात्विक अध्ययन थालिएको तमु प्ये ल्हु सङ्घका महासचिव हर्क गुरुङले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा तत्कालीन द्वन्द्वाका अवस्थाका कारण अध्ययन, अनुसन्धान एवं उत्खनन गर्न क्होलासोंथर गएको प्राविधिकसहितको टोली १०र१२ दिन मात्रै बसेर फर्किएको थियो । “त्यस समयमा यहाँका तीनवटा घरको उत्खनन गरिएको थियो”, गुरुङले भन्नुभयो, “तत्कालीन उत्खननबाट यहाँ एक हजार २०० वर्षभन्दा पुरानो कोइला फेला परेको थियो ।” उक्त आधारमा यहाँ एक हजार २०० वर्षअघिदेखि नै बस्ती बसेको सहजै अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

यसअघि गरिएको अध्ययन अनुसन्धान एवं उत्खननलाई निरन्तरता दिँदै यहाँका  वास्तविकता खोतल्ने सोचका साथ यहाँको थप अध्ययन गर्न लागिएको तमु प्ये ल्हु सङ्घले जनाएको छ । महासचिव गुरुङका अनुसार तमु समुदायको प्राचीन धर्मशास्त्र प्ये तां ल्हुं तांमा क्लोहासोंथरमा प्राचीनकालमा ८० घर रहेको उल्लेख छ । बोन समुदायको प्राकृत च्वों भाषामा लिखित उक्त ग्रन्थमा भनिए जस्तै विसं २०५८ मा गरिएको प्रारम्भिक अध्ययनमा सो स्थलमा त्यही किसिमका भौतिक अवस्थिति एवं पूर्वाधार पाइएको उहाँले बताउनुभयो । उक्त अध्ययनमा क्होलासोंथरको तत्कालीन बस्ती पहिचान भए पनि त्यस समयका सर्वसाधारणको समाधीस्थल भने पत्ता लागेको छैन ।

क्होलासोंथरको उत्खननका लागि रु ८८ लाख लाग्ने अनुमान गरिएकोमा गण्डकी प्रदेश सरकारले यसै आर्थिक वर्षमा रु ५० लाख छुट्याएको छ । उत्खननका लागि क्याम्ब्रिज युनिभर्सिटीबाट सात हजार पाउन्ड उपलब्ध गराउने भनिसकिएको बताउँदै महासचिव गुरुङले सो रकम १५ हजार पाउन्डसम्म पु¥याउने सम्बन्धमा पनि पहल भइरहेको उल्लेख गर्नुभयो । सङ्घले विभिन्न स्थानीय तहमा पनि यसका लागि पहल गरिरहेकामा लमजुङको क्होलासोंथर गाउँपालिकाले रु १० लाख, कास्कीको मादी गाउँपालिकाले रु पाँच लाखर पर्वतको महाशिला गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने भएका छन् । सङ्घले कास्कीको माछापुच्छ«े र अन्नपूर्ण, लमजुङको मस्र्याङदी, पर्वतको पैयुँ गाउँपालिकामा पनि सहयोगका लागि प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो ।

क्होलासोंथरको थप अध्ययन अनुसन्धान गरी यसको प्रवद्र्धन र विकास गर्न सकेमा यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने तमु प्ये ल्हु सङ्घका अध्यक्ष हितकाजी तमु बताउनुहुन्छ । सङ्घले क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सङ्घ एवं प्रदेश सरकारसँग पनि आवश्यक पहल गरिरहेको छ ।

क्होलासोंथरको पुरातात्विक अध्ययनसँगै गुरुङ समुदायका प्राचीनकालका जीवन भोगाइ एवं वास्तविकता उजागर हुने मिलेनियम  ट्रेक व्यवस्थापक समितिका सदस्य बालकुमार गुरुङ बताउनुहुन्छ । “क्होलासोंथर गुरुङ समुदायको आदिभूमि हो, यस समुदायका १७६ थर रहेका छन्”, उहाँले भन्नुभयो, “देश विदेशमा छरिएका गुरुङ समुदायको ऐतिहासिकताको थप अध्ययन अनुसन्धानका लागि पनि यहाँको पुरातात्विक अध्ययनले विशेष महत्व राख्दछ ।”