२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसिन्दा पहिरोबाट १०४ घर विस्थापित



(सांकेतिक तस्बिर)
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिराका कारण १०४ घर विस्थापित भएका छन् । पहिराको उच्च जोखिम भएपछि सिलिचोङ –१ बेसिन्दा, चेप्चेवालगायत गाउँका १०४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 पहिराले बेसिन्दालगायत गाउँ कुनै पनि बेला पहिराले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको छ । गत असार २८ गते आएको पहिराले बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । पहिराका कारण सिसुवा, बेसिन्दा र  चेप्चेवा गाउँ नै पहिराले जमीन चिराचिरा भएर फाटेको छ । पहिराबाट विस्थापित बेसिन्दाका ५७ घरलाई बेसिन्दाभन्दा माथिको चित्रे डाँडामा अस्थायी बास निर्माण गरी राखिएको प्रजिअ आचार्यले बताउनुभयो । 

त्यस्तै २९ घरपरिवारलाई सिसुवाको बुधबारे बजारमा राखिएको छ । चेप्चेवाका १८ घर परिवारलाई बुधबारे नजीकैको पौखमटार राखिएको प्रजिअ आचार्यको भनाइ छ । बेसिन्दाको पहिराबाट विस्तापित घरपरिवारलाई सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गरेर राखेको छ । बेसिन्दा पहिराबाट चार जनाको जीवितै उद्धार गरिएको थियो । 

पहिराबाट बेपत्ताको उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको छ ।  गत असार २८  गते गएको पहिराबाट ११ जना अझै बेपत्ता छन् । पहिराबाट हराइरहेकाको खोजीका लागि जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली आठ दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आइतबार फर्किएको हो ।  बेपत्ताको खोजी अहिले पनि जारी राखिएको छ । 

पहिराबाट हराइरहेकाको खोजीका लागि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले पनि पनि खोजीकार्य जारी राखिएको छ । बेपत्ताको खोजीका लागि अहिले ताम्कु र बुधबारे प्रहरीचौकीबाट  १३ जना प्रहरीको टोलीले खोजी र निगरानी गरिरहेका छन् ।

पहिरो पीडितलाई प्रदेश नं १ सरकारले हेलिकप्टरमार्फत राहत सामग्र्री पुर्याइसकेको छ । प्रदेश सरकारले पीडितलार्ई १५ क्वीन्टल चामल, दुई क्वीन्टल दाल, १०० लिटर तेल, ५० किलो नून, ५३ पाल, १० बाकस चाउचाउ र १० बाकस बिस्कुट तथा म्याटेससहितका राहत सामग्री पीडितलाई दिइसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । पहिरो पीडितलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको बताइएको छ ।  हालसम्म विभिन्न सङ्घसंस्थाबाट रु दुई लाखभन्दा बढी सङ्कलन भइसकेको छ ।