२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’



अ+ अ-

कैलाली। मुक्तिको घोषणा गरे पनि मुक्त कमैया, कम्लरी र हलियाको न्यायोजित पुनर्स्थापनाका काम सम्पन्न नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभा, सामाजिक विकास समितिको ध्यानाकर्षण गराइएको छ ।

आज मुक्त कमैया समाज, राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपाल र मुक्त कम्लरी विकास मञ्चका प्रतिनिधिहरूले संयुक्त रूपमा भेटेर समितिको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा समितिका सभापति धर्मराज पाठकले नेपाल सरकारले मुक्त घोषणा गरेको लामो समय भइसक्दा पनि पुनस्र्थापनाका काम सम्पन्न नभएकामा चिन्ता व्यक्त गर्दै अब प्रदेश सरकारले पनि यसमा पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि समितिले प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने उहाँले बताउनुभयो ।

“विसं २०५७ मा कमैया, त्यसपछि हलिया र कम्लरी मुक्तिको घोषणा गरेको पनि लामो समय भइसकेको छ तर हालसम्म उनीहरूका समस्या समाधान नहुनु हाम्रा लागिसमेत चिन्ताको विषय हो”, सभापति पाठकले भन्नुभयो,“अब पुनर्स्थापनाका काम सम्पन्न गर्न निश्चित समय तोकेर अगाडि बढ्न आवश्यक छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई आवश्यक निर्देशन दिनेछौँ ।”

यसअघि, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार अधिवक्ता बालाराम भट्टराईले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्दै परिवर्तनको अनुभूति गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्मानित जीवनको आधार निर्माण गर्न सरकारले आवश्यक वातावरण सुनिश्चित गर्ने भन्दै तत्कालीन अवस्थामा आन्दोलनरत पक्षसँग भएका सहमति सङ्घीयता र गणतन्त्र आएको लामो समयसम्म पनि कार्यान्वयन नहुँदा थप अन्योल बढेको स्मरण गराउनुभयो ।

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

मुक्त कम्लरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले मुक्त कम्लरीहरूलाई दीर्घकालीन प्रकृतिको जीवनोपयोगी सीप तालिम र उच्च तहसम्म व्यावसायिक शिक्षाको निशुल्क प्रबन्धका लागि आग्रह गर्नुभयो । रासस