
काठमाडौं । जारी सिजनको ईंग्लिश प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ ।
गएराति भएको खेलमा टोटेनहमलाई ५-१ गोलले हराउँदै लिभरपुल २० औं पटक च्याम्पियन बनेको हो । लिभरपुलले चार खेल अगावै उपाधि जित्यो । ३४ खेलबाट उसको ८७ अङ्क रहेको छ । दोस्रो स्थानको आर्सनलको ६७ अङ्क छ ।
यो उपाधिसँगै लिभरपुलले म्यान्चेस्टर युनाइटेडको कीर्तिमान बराबरी गरेको छ । दुबै टोलिले २०-२० उपाधि जितेका छन् ।
घरेलु मैदान एनफिल्डमा खेलको १२ औं मिनेटमा लिभरपुलले गोल खान पुग्यो । डोमिनिक सोलान्कीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, त्यसपछि भने लिभरपुल पछाडि परेन । १६ औं मिनेटमा नै लुइस डियाजले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याए ।
२४ औं मिनेटमा म्याक एलिस्टर र ३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुल पहिलो हाफमा ३-१ ले अघि रह्यो । दोस्रो हाफमा मोहम्मद सलाहले एक गोल थपे । उनले ६३ औं मिनेटमा गोल गरेका हुन् ।
६९ औं मिनेटमा लिभरपुलले एक गोल उपहारस्वरुप पायो । टोटेनहमका डेस्टिनी उडोगीले आत्मघाती गोल गर्न पुगे ।
यता पराजित टोटेनहमको भने यो सिजन निकै खराब प्रदर्शन रह्यो । ३४ खेलबाट ३७ अङ्क जोडेको टोलि तालिकाको १६ औं स्थानमा छ ।