१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फौजदारी कानुन संशोधनको तयारीप्रति विरोध गर्दै राप्रपा नेपालले १५ गते प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले फौजदारी कानुन संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । राप्रपा नेपालले जनताका अधिकार कटौती गर्ने गरी सरकारले गर्न लागेको कानुन संशोधनप्रति आपत्ति जनाउँदै आगामी सोमबार प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपालको संविधानको प्रस्तावना लगायत संविधानको धारा २७४ विपरीत जनताको सार्वभौम अधिकार र निर्णायकत्व कुण्ठित गर्ने गरी सरकारले विद्यमान फौजदारी कानुनमा संशोधन गर्न लागेकोप्रति आपत्ति जनाएको हो ।

‘संविधानको धारा २७४ ले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता बाहेक अन्य सबै विषयहरु जनअभिमतबाट परिवर्तन गर्न सक्ने अधिकार सुनिश्चित गरेको छ,’ बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ– ‘सार्वभौम सम्पन्न जनताले चाहेको खण्डमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता परिवर्तन गर्न सक्ने अधिकार संविधानले दिएको छ । संविधानको व्यवस्था विपरीत गणतन्त्रको विरुद्धमा आवाज उठाउनु वा गणतन्त्रलाई परिवर्तन गर्न खोज्नु राज्य विरुद्धको कार्य वा राष्ट्रद्रोह हुने गरी कानुनमा संशोधन गर्ने सरकारले तयारी गर्नु आपत्तिजनक छ ।’ राप्रपा नेपालले गणतन्त्र केवल शासकीय स्वरुप हो, संघीयता राज्यको संरचना मात्र हो मात्र भनेको छ । जनताले चाहेमा शासकीय स्वरुप र संरचना परिवर्तन गर्न सकिने दाबी उसको छ ।

बैठकले उग्र वामपन्थीहरूको चाहना पूरा गर्न सरकार यस्तो जनविरोधी र सर्वसत्तावादी कार्य गर्न अग्रसर भएको ठहर गरेको छ । उसले लोकतन्त्रको पक्षमा सदैव उभिएको दावी गर्ने नेपाली कांग्रेस लगायत सवै प्रजातन्त्रवादी राजनीतिक दलहरुले पक्कै पनि यस्तो आत्मघाती काममा साथ दिने छैनन् भन्ने अपेक्षा गरेको छ । जनताको नैसर्गिक अधिकार, संवैधानिक हक तथा निर्णायकत्वको रक्षाका निम्ती सशक्त आवाज उठाउन र भ्रष्ट सरकारको तानाशाही अभिष्ट पुरा हुन नदिन लोकतन्त्रवादी दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र आम सञ्चार माध्यमलाई राप्रपा नेपालले आह्वान गरेको छ ।

यसैगरी हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको पक्षमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा पक्राउ परेका धवलशम्शेर राणा, रविन्द्र मिश्र, दुर्गा प्रसाईलगायतलाई तत्काल रिहा गर्न मागसमेत बैठकले गरेको छ ।

राप्रपा नेपालले आस्थाका बन्दीहरूको तत्काल रिहाइ एवं गणतन्त्रको विरोध गर्न नपाइने गरी संविधान विपरित जनताको अधिकार कुण्ठित गर्न तयार गरिएको ऐन संशोधन फिर्ता लिन माग गर्दै राप्रपा नेपालले यही बैशाख १५ गते सोमवार काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । जनप्रदर्शनमा पार्टीको झण्डा प्रयोग नगरिने भएकाले राष्ट्रिय झण्डा बोकेर सहभागी हुनसमेत आम नागरिकलाई आह्वान गरिएको छ ।