२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन



अ+ अ-

दिपायल, (डोटी) । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।

जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन् । उक्त गाउँपालिका–४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको अर्थिक सहयोग तथा जिआइजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब रु २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो ।

अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको उद्यम विकास शाखा प्रमुख भूपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । यहाँका १५ जना महिला मिलेर अल्लो प्रशोधन तथा कपडा बन्नमा जुटेका उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भैरव साउदले पछिल्लो समय अल्लोको धागो र कपडाको माग उच्च रहेकाले पालिकाले आवश्यक सहयोग गरेको बताउनुभयो । अल्लोको कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरी यस कार्यमा लाग्न सहजीकरण गरिएको उहाँले बताउनुुभयो ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताउनुभयो । यस व्यवसायलाई पूर्णकालीन बनाउँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।

गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको आधार बन्न थालेको उद्यमी तुल्सी बुढामगरले बताउनुुभयो । उहाँले यस कार्यको दीगो व्यवस्थापनका लागि आफूहरू जुटेको र यसमा सरोकार भएका निकायले पनि थप प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । “आवश्यक तालिम र उपकरण पाएपछि हामी १५ जना महिला यसमा जुटेका छौँ । स्थानीय स्रोतको उपयोग गरी हाम्रो आम्दानीको स्रोत पनि बनेको छ । यसको दीगो व्यवस्थानका लागि सरोकार भएका निकायले थप सहयोग र बजार विस्तारका लागि सहजीकरण गरिदिने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।  रासस