काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको जम्मु कश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।
आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा परी एक नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएको थियो । आक्रमणकै कारण दर्जनौं व्यक्ति घाइते भएका थिए । यो घटनालाई राप्रपाले मानवताविरोधी घटनाको भनेको छ । राप्रपाले अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको अति निन्दा र भत्सर्ना गरेको छ ।
राप्रपाले केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व श्री भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको स्मरण गर्दै पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु भएकोमा चिन्तासमेत व्यक्त गरेको छ ।
‘जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन, राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दु:खको यस घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’
राप्रपाले आतंकवादी आक्रमणबाट ज्यान गुमाउन पुगेका नेपाली नागरिक रुपन्देहीको बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।










