
काठमाडौं । संवैधानिक राजतन्त्रसहितको हिन्दू राज्य स्थापनाको माग गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको छ । चैत १५ गते पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको रिहाइको मागसमेत राप्रपाको छ । उसले दिउँसो १२ बजे राजावादीहरुलाई बिजुलीबजारमा भेला हुन आह्वान गरेको छ ।
राप्रपाले बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार नै आज निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो । सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा कुनै पनि प्रदर्शन गर्न पाइँदैन । तर राप्रपाले त्यहि ठाउँमा प्रदर्शन गरेर सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
बिजुलीबजारमा भेला भएर राप्रपाका नेता तथा कार्यकर्ता नाराबाजी गर्दै नयाँ बानेश्वरमा पुगेर निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् । संसद् भवन भएकाले बानेश्वर आसपासमा कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ । बिजुलीबजारबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नै जुलुसको नेतृत्व गर्ने बताइएको छ ।
यसैगरी राप्रपाले सिंहदरबार अगाडि भद्रकाली र प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।
राप्रपाका प्रदर्शनलाई राजसंस्था पुनस्र्थापना संघर्ष समितिले समर्थन गरेको छ । राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर बिहानैदेखि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सरकारको कडा चेतावनी
राप्रपाले काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् ।
मन्त्रालयले त्यस्ता गतिविधि भए कानुन अनुसार कारबाही हुनेबारे सचेत गराएको छ ।
मन्त्रालयले संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ ।
’यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने ब्योहरा सूचित गरिन्छ। साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।