२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा



अ+ अ-

काठमाडौँ। काठमाडौँको सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा गरिएको छ । नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण भएको बद्रीनारायणधामलाई स्वदेश तथा विदेशमा चिनाउने तथा यही वैशाख १९ देखि २७ गतेसम्म हुन लागेको प्राण प्रतिष्ठाको पूर्व तयारीका लागि आज पदयात्रा गरिएको हो ।

नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेसनद्वारा संयुक्त रूपमा आयोजित पदयात्रामा एक हजारभन्दा बढीको सहभागिता थियो । नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा आगामी वैशाख १९ देखि २७ गतेसम्म प्राण प्रतिष्ठा हुन लागेको जनाइएको छ ।

प्राण प्रतिष्ठाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरेको हो ।

रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छभने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई बासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका छन् ।

चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले राससलाई जानकारी दिनुभयो । स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय रहनुभएको थियो ।

स्वर्गीय पोखरेलले भौतिक विकास नभएसम्म समुन्नतमूलुक निर्माण हुनसक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ ।

स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन  गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै विसं २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहत् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । “नेपालमा ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै छ”, उहाँले भन्नुभयो ।

धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ । रासस