काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानिसमा सकरात्मक सोच उत्पन्न गराउन र समाजलाई सत्मार्गमा डोर्याउन लायन्सजस्ता सामाजिक सङ्घसंस्थाको अतुलनीय भूमिका रहेको बताउनुभएको छ ।
सामाजिक सेवाका क्षेत्रमा क्रियाशील लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ जेको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाज विकास र सत्कर्मको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार लायन्सले नेपालसहित विभिन्न मुलुकमा आँखा उपचार, रगत सङ्कलन र मधुमेह नियन्त्रणका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले आँखा उपचार, रगत सङ्कलनलगायत सामाजिक क्षेत्रका लागि संस्थामार्फत नेपालमा वार्षिक रूपमा ३० लाख अमेरिकी डलरभन्दा बढी दातृ निकायबाट सहयोग रकम प्राप्त हुँदै आएको जानकारी दिनुभयो । उहाँले संस्थाका कार्यक्रमलाई नयाँपन दिँदै गरिब तथा पछि पारिएका समुदाय जीवनस्तर सुर्धार्ने किसिमका कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नायक राजेश हमालले लायन्सजस्ता सामाजिक सङ्घसंस्थाका कार्यक्रमले समाज र राष्ट्रलाई सन्तुलित तुल्याउन योगदान दिएकाले अरुले यसबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले यस्ता संस्थाले लक्षित वर्ग र समुदायमा सशक्त ढङ्गबाट प्रभावकारी कार्यक्रम पुर्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
हमालका अनुसार लायन्सले एकअर्काप्रति समझदारीको भावना जागृत तुल्याउने, सुयोग्य नागरिक र असल शासनको सिद्धान्तलाई प्रोत्साहन गर्ने, सबै सामाजिक सेवामा संलग्न क्बललाई मित्रता, भाइचारा र आपसी विश्वको सूचमा आबद्ध गर्ने, समुदायमा सेवा प्रदान गर्न प्रेरित गर्नेलगायत काम गर्दै आएको छ ।
लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ जेका गर्भनर मिलन थापाले आफ्नो संस्थाले सामाजप्रतिको जिम्मेवारी र उत्तरदायित्वलाई पूरा गर्ने अभियानमा सक्दो योगदान गरिरहेको बताउनुभयो । उहाँले महिला सशक्तिकरणका लागि विभिन्न तालिम, प्रशिक्षण, गोष्ठि, पुरस्कारलगायत अभियानले संस्थाको परिचयलाई अझ प्रष्ट र प्रभावकारी बनाएको धारणा राख्नुभयो ।
लायन्सले गोरखा, बागलुङ, नुवाकोट र बागमती क्षेत्रमा विभिन्न विपद्का घटनापछि २५ हजार डलर बराबरको राहत सहयोग उपलब्ध गराएको थापाले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष जुलाई १ तारिखदेखि लायन्सको नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने गर्दछ । लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ जेका आगामी गर्भनर मिलनबाबु मल्लले संस्थाको काठमाडाैँ उपत्यका, गण्डकी र धौलागिरि क्षेत्रका १४ जिल्ला कार्यक्षेत्र रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा हाल करिब तीन हजार ३०० सदस्य रहेका छन् । रासस










