काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारीले सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका आफ्ना ४ जना सदस्यलाई कारबाही गरेको छ । प्रेस चौतारीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । यसैगरी चौतारीले नेकपा एमालेको सदस्यतासमेत खारेज गर्न सिफारिस गरेको छ ।
प्रेस चौतारीका महासचिव हीरामान लामाले विज्ञप्ति निकाल्दै कारबाहीबारे जानकारी गराएका छन् । कारवाहीमा पर्नेहरुमा पूर्वकेन्द्रीय सचिव लोग्सरी कुँवर, पूर्वकेन्द्रीय समिति सदस्य पवित्रा सुनार, केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोग पूर्वसदस्य दीपा रेग्मी छन् ।
उनीहरुले संगठनको हितविपरित अन्य पार्टीको उक्साहटमा उम्मेदवारी दिएको आरोप लगाइएको छ ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका चौतारीले कारबाही गरेका पवित्रा सुनार र लोग्सरी कुँवरलाई माओवादीनिकट प्रेस सेन्टरले समर्थन गरेको छ ।
यी दुवै पदमा अब प्रेस चौतारीकै सदस्यहरुबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसनिकट प्रेस युनियनले पाएको महासचिव पदमा राधा खनाल निर्विरोध भइसकेकी छन् । प्रेस चौतारीकी पवन वर्षा शाहले उम्मेदवारी फिर्ता लिएसँगै खनाल निर्वाचित भएकी हुन् ।










