काठमाडौँ । यौन दुर्व्यवहार पश्चात माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकी २५ वर्षीया आनन्दीदेवी सदायको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य रहेका मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिए ।
पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेका बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका थिए । उनले गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट पुस ९ गते यौन दुव्र्यवहार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । फागुन २५ मा जाहेरी दर्ता भएपनि अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् ।
यौन दुव्र्यवहारमा परेकी आनन्दीदेवी वैशाख २ गते नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन ।










