८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल यौन दुराचारको आरोप लागेका बम्जनले कसरी पाए सफाई ?



अ+ अ-

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा जिल्ला अदालतबाट दोषी ठहर भएका रामबहादुर बम्जनलाई सफाई दिएको छ । उच्च अदालतले हदम्यादका कारण मुद्दै चल्न नसक्ने भन्दै बम्जनलाई सफाइ दिएको हो ।

सर्लाही जिल्ला अदालतले गत वर्ष असार १७ गते बम्जनलाई १० बालबालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यसमाथि भएको पुनरावेदनमा उच्च अदालत जनकपुरका न्यायाधीशहरु खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने देखिएको भन्दै जिल्ला अदालतको सजाय लागू हुन नसक्ने ठहर गरेको हो ।

गएको चैत ६ गते फैसला भएको यो मुद्दाको पूर्ण पाठ आज सार्वजनिक भएको हो । पूर्णपाठमा प्रचलित कानुनअनुसार हदम्यादभित्र अभियोगपत्र दायर नभएको भएको जिकिर गरिएको छ । २०७३ साउन २० गते उक्त घटना भएको थियो । त्यतिबेला प्रचलित कानुनअनुसार जबर्जस्ती करणी कसुरका लागि ६ महिना हदम्याद रहेको थियो ।

सो हदम्यादअनुसार वादी पक्षले २०७३ माघ १९ गतेभित्रै अभियोगपत्र दायर गरिसक्नुपर्ने थियो । तर, पीडित पक्षले २०७३ माघ २३ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । सो समयसम्म हदम्याद नाघेको र पीडित तत्कालीन बालबालिका ऐन, २०४८ अनुसार १६ वर्ष पुगेर बालिग भइसकेको पूर्णपाठमा उल्लेख गरिएको छ । पीडित ०७४ असार १९ मै १६ वर्ष पुगिसकेको फैसलामा भनिएको छ ।

‘सुरु सर्लाही अदालतको फैसला नमिलेकोले बदर भई अभियोगपत्र नै खारेज हुने ठहर्छ,’पूर्णपाठमा उल्लेख गरिएको छ,‘कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन ।’

यसअघि जिल्ला अदालत सर्लाहीले आंशिक दाबी पुग्ने फैसलासहित बम्जनलाई दोषी ठहर गरेको थियो । त्यतिबेला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिने फैसला सुनाएका थिए ।