काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ ।
मुद्दा सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितले दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका अतिरिक्त पूर्वमुख्य सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।
०६६/६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णय भएको थियो ।
यस्तै, २०६९ मा पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गर्ने निर्णय गर्दा भट्टराई प्रधानमन्त्री थिए भने त्यसमा नक्कली मोही खडा गर्ने निर्णय गर्दा पौड्याल नेपाल सरकारको मुख्यसचिव थिए ।










