काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनरत शिक्षकलाई काममा फर्कन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताएकी छन् ।
उनले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि समेत संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बताइन् ।
सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने उनको भनाइ छ ।
शिक्षामन्त्री भट्टराईका अनुसार मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरु :
१. संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने ।
२. नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।
३. नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसईईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने ।










