१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’



अ+ अ-

काठमाडौँ। नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर आजदेखि ‘ललितकला मेला–२०८२’ सुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तरचेतना जगाउने बताउनुभयो ।

मन्त्री पाण्डेले समाजलाई सही बाटोमा जानका लागि उत्प्रेरित गर्ने काम पनि कलासंस्कृतिले गर्ने बताउनुभयो । कला क्षेत्रका परम्परागत ज्ञान, सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले यही नै पछिका लागि इतिहास बन्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलामा कला सरोकारी, ललितकर्मी, विद्यार्थी, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको बताउनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ठूलो कुरा सुरुआत साना–साना प्रयासबाटै हुने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचारप्रसार, नेपाली ललितकलाको बजार प्रवर्द्धन, कला पर्यटनको विकासलगायत क्षेत्रमा थप सहयोग गर्ने बताउनुभयो ।

विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको हो ।

मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनुसन्धानकर्ता, कलाकृति तथा कला वस्तुसँगै सर्जकसमेतलाई एकै थलोमा भेला गराई स्थलगतरूपमा ललितकलाको प्रवर्द्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ ।पैतालीसभन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्नेछ । रासस