१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी



अ+ अ-

ठूलीभेरी । शैक्षिक सुधारको साझा प्रयासस्वरूप काठमाडौँको बुढानिलकण्ठ नगरपालिका तथा त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाबीच त्रिपक्षीय शैक्षिक साझेदारीका लागि सम्झौता भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित कार्यक्रममा तीनवटै पालिकाका प्रमुखहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र रोकाया, शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावासम्दुक गुरुङ र बुढानिलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गर्नुभयो । नगरप्रमुख अधिकारीले बुढानिलकण्ठले पछिल्लो तीन वर्षमा १४ प्रतिशत गुणस्तरीय शैक्षिक वृद्धि हासिल गरेको उल्लेख गर्दै असल अभ्यास अन्य पालिकासँग साझा गर्दै आएको बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क खाजा कार्यक्रम, चार जिपिए ल्याउनेलाई रु पाँच लाखसम्मको पुरस्कारको व्यवस्था तथा महिला शिक्षालाई प्राथमिकता दिने उक्त समझदारीपत्रमा उल्लेख छ ।

त्रिपुरासुन्दरीका नगरप्रमुख रोकायाले डोल्पा शैक्षिक रूपमा पछाडि परेको भए पनि गुणस्तरीय शिक्षा विकासमा सहयोग र सहकार्यले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष गुरुङले सकारात्मक सोच र जनचेतनाले दुर्गम क्षेत्रको रूपान्तरण सम्भव रहेको बताउनुभयो ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले डोल्पाको दुःख, मर्म र सम्भावनाको गहिरो अनुभव गरिएको उल्लेख गर्दै भन्नुभयो, “यार्सागुम्बा मात्र होइन, डोल्पामा रहेका विविध उत्पादनले देशको अर्थतन्त्रमा योगदान दिन सक्छन् । प्रशासकीय र राजनीतिक शक्ति सक्रिय भए मात्र शिक्षा र अन्य क्षेत्रमा परिवर्तन सम्भव छ ।”

उपप्रमुख लामाले सबै वडामा शैक्षिक सर्वेक्षण गरेर कुनै पनि बालबालिका विद्यालय बाहिर बस्न नपरोस् भन्ने उद्देश्यले काम अघि बढाएको जानकारी दिनुभयो । “डोल्पाको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा काठमाडौँका लागि नयाँ सम्भावनाको स्रोत हुन सक्छ,” उहाँले जोड दिनुभयो ।

बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहले आफू दुई दशकपछि डोल्पा फर्किएको अनुभव सुनाउँदै त्रिपक्षीय साझेदारी, अनुभव आदानप्रदान र असल अभ्यास अनुसरणमार्फत शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने साझा उद्देश्य रहेको बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत भीम थापाले विकट क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक विकासमा बुढानिलकण्ठको सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा हाल २९ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने न्यूनतम स्रोत–साधनको बाबजुद नगरपालिका शैक्षिक विकासमा लागिपरेको छ । बुढानिलकण्ठ नगरपालिकाले डोल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीका लागि स्टेसनरी सामग्री (कापी, झोला र कलम) समेत प्रदान गरेको छ ।

सहकार्यले डोल्पा र काठमाडौँ उपत्यकाबीचको भावनात्मक सम्बन्ध सुदृढ गर्दै शिक्षामार्फत् समावेशी विकासमा योगदान पुर्याउनुका साथै दुर्गम क्षेत्रलाई गुणस्तरीय शिक्षामार्फत भावनात्मक रूपमा काठमाडौँसँग जोड्ने र देशभित्रै भविष्य खोज्न सकिने विश्वास निर्माण गर्न सघाउने अपेक्षा गरिएको छ ।