काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छभने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ ।
गत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा भएको छ । मुना स्टेसनमा ३२.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।
त्यसपछि धेरै वर्षा सिन्धुपाल्चोकको चन्द्रखु क्षेत्रमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा २२ मिलमिटर वर्षा रेकर्ड भएको छ । सिन्धुपाल्चोककै गुम्थाङमा १९.४, दुवाचौरमा १२.८, ढुंगेमा १२.४, भोताङमा १०.८, बाहुनेपाटीमा १०.६, बोल्देमा ८.८ र मेलम्चीघ्याङमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।
झापाको बाहुनडाँगीमा पनि मध्यमखालको वर्षा भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा २१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
त्यसपछि धेरै वर्षा कर्णाली प्रदेशको जाजरकोटस्थित दल्ली स्टेसनमा भएको छ । दल्लीमा १९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली प्रदेशको रुकुमपश्चिममा पर्ने मुसिकोट नगरपालिका वडा नं ९ चौखाबाङमा असिना–पानी परेको छ । असिनाले काट्न ठिक्क भएको गहुँ र अन्य तरकारी तथा फलफूलमा क्षति पुर्याएको छ ।
यसैगरी काभ्रेको रोशीखोला पनौतीमा ७.६ मिलिमिटर वर्षा भएको छ । तर काभ्रेको छिमेकी काठमाडौं उपत्यकाका जिल्ला भने सुक्खा नै रहे । साँखुमा हल्का छिट्याउने बाहेक अन्य स्थानमा वर्षाको रकेर्ड देखिएन ।
काठमाडौंमा आज र भोलि वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन ।
आज र भोलि दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अपराह्न वा साँझतिर भने मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।










