
काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि शनिबार भएको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले फराकिलो अग्रता बनाएका छन् ।
मतगणनाको दोस्रो दिन नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा मिश्रले मतान्तर फराकिलो पारेका हुन् । आज साँझसम्मको गणनाअनुसार उनी नेकपा माओवादीनिकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठभन्दा १ हजार १४३ मतले अगाडि छन् ।
निर्वाचन समितिका अनुसार मिश्रले २ हजार ३ सय ४३ मत प्राप्त गर्दा श्रेष्ठले १ हजार २ सय मत ल्याएका छन् ।
त्यसैगरी मिश्र समूहका महासचिवका उम्मेदवार केदार कोइरालाले २३ सय ५२ मत प्राप्त गर्दा श्रेष्ठ समूहका महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले १ हजार ५२ मत ल्याएका छन् ।
बारको चुनावको अन्तिम मतगणना बिहीबारसम्म सार्वजनिक गर्ने तयारी छ । नेपाल बारको शनिबार भएको चुनावमा ७ हजार ९ सय ९५ मत खसेको थियो । मतगणना नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा भइरहेको छ ।