२३ जेष्ठ २०८३, शनिबार
,
Latest
यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ ।

यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा पुगेको क्षति सेवा प्रदायकबाट भराउने गरी सर्वोच्च अदालतले स्थापित गरेको नजिरअनुसार उच्च अदालतले उक्त फैसला गरेको हो । यती एयरलाइन्सविरुद्ध स्थापित उक्त नजिरलाई आधार मानेर फैसला भएको हो ।

न्यायाधीशद्वय ठाकुरप्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको संयुक्त इजलासले प्राविधिक कारणले सेवा रोकिए पनि सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकले मनासिब क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो । काठमाडौँ जिल्ला अदालतले उक्त माग दाबीलाई अस्वीकार गरेको थियो । निवेदक अधिवक्ता राजकुुमार सुवालले जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्नुभएको थियो । जिल्ला अदालतले २०७६ वैशाख ४ गते मागदाबी अस्वीकार गर्दै फैसला गरेको थियो ।

तर उच्च अदालतले भने सेवा उपलब्ध नगराएकोमा क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको हो । उच्च अदालतको फैसलामा भनिएको छ, “नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रदान गरेको मोबाइल नम्बरमा बादीले शुल्क बुझाइसकेपछि करिब १४ घण्टासम्म मोबाइल सुविधा प्रदान गरेको नदेखिएको अवस्थामा दाबीबमोजिम मनासिब क्षतिपूर्ति विचार गरी भराई दिनुपर्नेमा सो नगर्ने गरी दाबी पुग्न नसक्ने ठहर गरी सुरु काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई दाबीअनुसार बादीलाई प्रतिवादीले समयमा सेवा उपलब्ध नगराएबापत पुग्न गएको क्षतिस्वरूप प्रतिवादी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट मनासिब माफीको रु। १५ हजार क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ ।” मुलुकी देवानी संहिताले कुनै गल्तीका कारण अर्को व्यक्तिलाई हानि नोक्सानी पुगेमा क्षतिको दायित्व गल्ती गर्ने व्यक्तिमा हुने व्यवस्था छ । संहिताको उक्त व्यवस्थामा भनिएको छ, “कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि नोक्सानी हुन गएमा त्यसरी हानि नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ । ”

यस्तो थियो घटना
अधिवक्ता सुवालले प्रयोग गर्नुभएको नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा सन् २०१८ सेप्टेम्बर १४ का दिन साँझ टेलिकमबाट चार हजार ५७३ तिर्न बाँकी रहेको जानकारीसहित थप क्रेडिट सुविधा ४२६ रुपियाँ भएको जानकारी प्राप्त हुन्छ । भोलिपल्ट साँझ पुनः बाह्य कल निषेध भएको जानकारी एसएमएसबाट प्राप्त हुन्छ । सेवाग्राही सुवालले पाँच सय दरका दुईवटा कार्ड रिचार्ज गरेपछि राति ९ बजे एक हजार १५९ रुपियाँ क्रेडिट सुविधा रहेको जानकारी सहितको रिचार्ज भएको म्यासेज प्राप्त हुन्छ ।

रिचार्ज भएपछि पनि फोन गर्ने सुविधा भने सुवालले पाउनुहुन्न । करिब १४ घण्टा सुुवालको फोनबाट बाह्य कल सुचारु हुँदैन । अर्को दिन बिहान पौने १२ बजे मात्र बाह्य कल निषेध हट्छ ।

आफूसँग फोन सुविधा उपयोगका लागि पर्याप्त क्रेडिट हुँदाहुँदै पनि सेवा अवरुद्ध हुँदा आर्थिक तथा मानसिक क्षति व्यहोर्नु परेको दाबी गर्दै सुवालले जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सुवालले २५ हजार रुपियाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेकोमा काठमाडौँ जिल्ला अदालतले २०७६ वैशाख ४ गते दाबी नपुग्ने फैसला गरेको थियो ।, गोरखापत्रबाट