काठमाडौं । लामो दूरीको सार्वजनिक सवारीसाधन सञ्चालनमा अन्योल देखिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै लामो दूरीको सवारीसाधन सञ्चालनमा अन्योल देखिएको सरकारी अधिकारी र व्यवसायीहरूले बताएका छन् ।
लामो दूरीको सवारीसाधन कहिलेबाट सञ्चालनमा आउँछन् भन्ने जवाफ उनीहरूसँग छैन । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले कोरोना संक्रमणको दर बढेसँगै लामो दूरीको सवारीसाधन भदौमा सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधन आगामी १ भदौबाट सञ्चालन गर्न दिने निर्णय गरे पनि कोरोना संक्रमणको जोखिम बढेकाले व्यवसायीसँग थप छलफल गर्ने उनको भनाइ छ ।
‘कोरोना त्रास पछिल्लो समयमा बढ्दो छ, सरकारले सञ्चालन गर्न अनुमति दिएको भए पनि लामो दूरीको सवारीसाधन सञ्चालन हुन सक्दैन,’ हमालले नयाँ पत्रिकासँग भने ।
बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्नेमा कोरोना संक्रमण देखिन थालेपछि लामो दूरीको सवारीसाधन सञ्चालन गर्न नसकिने निष्कर्षमा व्यवसायी पनि पुगेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला लामो दूरीको सवारीसाधन सञ्चालनको सम्बन्धमा अन्योल थपिएको बताउँछन् । ‘केही समय बाटो हेरौँ, तर, १ भदौदेखि नै लामो दूरीको सवारीसाधन सञ्चालनमा आउन सक्ने सम्भावना छैन,’ उनले भने ।
कोरोनाको जोखिम कम नभएसम्म लामो दूरीको सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने उनको भनाइ छ । उनका अनुसार लामो दूरीको सवारीसाधन सञ्चालनका लागि व्यवसायी तयार छन्, तर कोरोना संक्रमणका कारण सञ्चालन गर्न सक्ने अवस्था छैन ।, नयाँ पत्रिकाबाट










