
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउनुभएको छ ।
आईतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गर्नुभयो । उहाँले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको बताउनु भयो ।
उहाँले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिनुभएको राजीनामाको बारेमा प्रसंग निकाल्दै उहाँले विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर प¥यो । मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु । विचौलियाहरु । हाम्रा नेतृत्वहरु विचौलियाहरुको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’
सांसद कोईरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्नेकुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गर्नुभएको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताउनु भयो । काँग्रेस—एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको बताउनु भयो ।
देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताउनु भयो । उहाँले त्यहाँ पनि विचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गर्नुभयो । राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताउनु भयो । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने बताउनु भयो । सुशासन दिन्छौँ भनेर सरकारले भनिरहे पनि औचित्य सावित हुन नसकेको बताउनु भयो । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उहाँको भनाइ छ ।
सांसद कोईरालाले भन्नुभयो, ‘संविधानमा सुधार गर्ने भनेका छौँ । संविधान पुनर्लेखन त भनेका छैनौँ । त्यसलाई हेरिदिने । केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो । आज नौ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ । के—केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ । गर्नैपर्छ । किनभने यो त प्रधानमन्त्रीजीले रोष्ट्रममा उभिएर बोलेको कुरा हो । यो मैले त्यसै भनेको कुरा होइन । नेपाली काँग्रेस र एमालेको सहमतिको डकुमेण्ट हो यो । दोस्रो कुरा छ, आर्थिक अवस्था एकदम नाजुक छ देशको । त्यसलाई सुधार गर्दै अघि लैजाने । सुधार गर्ने प्रक्रियाहरु अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो । हुन्छ की भन्ने आशा छ । कत्तिको हुन्छ हेरौँ । कि त्यहाँ पनि फेरि विचौलियाहरुकै खेल छ की रु र अहिले तपाईंहरुले हामी सबैले सुन्दैछौँ एउटा कुरा ।
हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको छ । अगर त्यो हो भने म त वार्न गर्दछु सरकारलाई । अगर त्यो हो भने नेपालको लागि दुर्भाग्य हुन्छ । सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरु कसैलाई पनि छैन । त्यसपछि उहाँहरुले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्युनिकरण गर्छौं भन्नुभयो । सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन ।
औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ । उपायहरु छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरुमा, नेतृत्वमा हुनुपर्छ । राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ । के नेपाललाई बनाउन सकिँदैन, नेपाललाई बनाउन सकिन्छ । अहिले युवाहरु पलायन भइरहेका छन् ।’
सांसद कोईरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताउनु भयो । उहाँले सबै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउन नसकिरहेको उल्लेख गर्नुभयो ।