२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित



फाइल फोटो
अ+ अ-

बरहथवा, (सर्लाही) । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।

यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताउनुभयो । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाउनुभएका उहाँ विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिनुभयो । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।

“यसअघि खेतमा पानीको उपाय नै थिएन”, उहाँले भन्नुभयो, “पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।” पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उहाँको भनाइ छ । “पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजलको खर्च हुन्थ्यो”, महतोले भन्नुभयो, “अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।”

स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् । सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताउनुभयो । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उहाँको अनुभव छ ।

“यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए”, साहले भन्नुभयो, “गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।” अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको साहले बताउनुभयो । उहाँले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गर्नुभएको छ ।

पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो । अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताउनुभयो ।

विद्युत् महसुल गाउँपालिकाले तिर्ने

चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, नि:शुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ ।

आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उहाँहरूलाई सुविधा पुर्याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताउनुभयो । यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उहाँको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताउनुभयो । कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्रविधिकको भनाइ छ ।

कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताउनुभयो । यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो । रासस