६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीव्र फैलिँदै संक्रमण, स्थिति भयावह बन्दै



अ+ अ-

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए। 

त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए। यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ। तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ।

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो। त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो। मन्त्रालयका पूर्वविशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो। कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो।

कोरोना जेठ १९ गतेसम्म विभिन्न जिल्लामा देखा परेको थियो। त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए। जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितले भने, ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो। पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो। पीसीआर परीक्षण विस्तार हुन सकेन। संक्रमित भित्रभित्रै बढे।’

मन्त्रालयको तथ्यांकअनुसार असार १९ गते एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित भए। ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संक्रमित फेला परेका हुन्। कुल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो। त्यसबेलासम्म ३२ जनाको मृत्यु भएको थियो। त्यो संख्या बढेर ५७ पुगेको छ। एक महिना अवधिमा झन्डै ५ हजार संक्रमित थपिएका छन्। निको हुनेको संख्या १४ हजार नाघेको छ।

पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या २९ पुगेको छ। ‘त्यसले गर्दा पनि धेरै संख्यामा पहिचान हुन थालेका हुन्। अहिलेको संक्रमण ठाउँमा लोकलाइज ट्रान्समिसन नै हो। समुदायमा संक्रमण फैलिसकेको भन्न मिल्दैन’, डा. दीक्षितले भने।

विज्ञका अनुसार कोरोना संक्रमितको संख्या बढ्नुमा सरकारका साथै नागरिक पनि जिम्मेवार छन्। डा. दीक्षितले भने, ‘पीसीआर परीक्षण नबढाएका राज्यलाई दोष दिन सकिन्छ। त्यस्तै हामी नागरिक पनि दोषी छौं। हेलचेक्र्याइँ गर्छौं।’

अव्यवस्थित नाकाका साथै क्वारेन्टाइन खचाखच हुँदा संक्रमण एकबाट अर्को सर्न पुगेको डा. प्याकुरेलको भनाइ छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय पनि प्रभावकारी हुन सकेन। ‘सुरुमै पीसीआर परीक्षण गरेको भए संक्रमण यसरी फैलने थिएन। आवश्यक नै नभएको आरएटी (र्यापिड एन्टिबडी टेस्ट) गरियो’, अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुर बायोलोजी विभागका निर्देशक डा. विजय ढकालले भने। द्रुत परीक्षण रोक्न मन्त्रालयले आइतबार निर्देशन दिएको छ।

कोरोना फैलिरहे पनि भौतिक दूरी कायम गरिएको छैन। मास्क लगाउन ध्यान दिएको पाइँदैन। स्यानिटाइजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरे पनि अटेर गर्ने प्रवृत्ति देखिएको छ। अर्कोतर्फ कोरोेना संक्रमणमा केन्द्रित हुने बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व सक्षम देखिएन। डा. प्याकुरेलले भने, ‘टेबलटेनिसको क्याप्टेनलाई फुुटबल मैदानमा उतारेजस्तो भयो।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।