२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयदेव प्रिमियर लिग सुरु, उद्घाटनमा पाटन भ्याली विजयी



अ+ अ-

बैतडी। बैतडीको पाटनमा आजदेखि दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पाटनस्थित श्रीकृष्ण माविको खेल मैदानमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

क्लबका अध्यक्ष सन्तोष जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा अन्य जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमीलगायत उपस्थिति थियो ।

उद्घाटन समारोहपश्चात् भएको खेलमा आजोजक पाटन भ्याली क्रिकेट क्लब विजयी भएको छ । सुखद सुरुआत गर्ने क्रममा भ्यालीले सिगास सेवा समाजलाई २४ रनले हरायो । जितका लागि पाएको १९९ रनको लक्ष्य पछ्याएको सिगासले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भ्यालीले २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनायो । भ्यालीका लागि युवराज भण्डारीले सर्वाधिक ५० रन हिर्काए । आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले रु एक लाख एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले रु ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु आठ हजार ८४८, बेष्ट ब्याट्स्म्यान  तथा बेष्ट बलरलाई पाँच हजार ५५५ र उदयमान खेलाडीलाई रु दुई हजार ५२५  नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको उदयदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले हात पारेको थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ । रासस