२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ र विषाक्त वातावरण: बायु प्रदुषणमा ट्रान्स-बाउन्ड्रीको प्रभाब



अ+ अ-

काठमाडौँ उपत्यकाको बायु प्रदुषण हरेक वर्ष झन् झन् बिकराल बन्दै गैरहेको हामीले देख्दै र भोग्दै आएका छौं।  यो प्रदुषण जाडोको मौसममा अत्यधिक हुने गर्छ।  मंसिरको चिसोसंगै काठमाडौँको प्रदुषण बढ्न सुरु हुन्छ र फागुन चैत्रमा गएर यो अत्यधिक हुने गर्दछ। जाडोको मौसममा काठमाडौँमा रातको समयमा जमिनको केही माथि तातो हावाको तह (layer) बन्ने हुनाले उक्त तातो हावाले कुचालक (insulator) को काम गर्छ।

यसले गर्दा काठमाडौँको जमिनको प्रदूषित हावा जमिनबाट धेरै माथि जान नपाई सतहमै जम्मा हुन्छ र  यो  क्रम  जाडो  भरि  जारी  रही  रहन्छ, र  प्रदुषण प्रति दिन हावामा थपिदै  गएर जाडोको अन्त्यतिर (फागुन/चैत्र )  सम्म  पुग्दा  बायु  चरम  रुपमा प्रदुषित  हुने गर्दछ । त्यसैले  जाडोको  मौसममा  बिहानीपख शारीरिक व्यायामको लागि हिँड्डुल गर्दा प्रदूषित हावाको शिकार अझ बढी  भइन्छ। त्यसले शरीरमा प्रतिकूल असर गर्छ। जाडोमा  दिउँसो  घाम  लगेर  जमिन  तातेको  बेला   प्रदूषणको प्रभाव जमिन सतहमा कम हुन्छ र थोरै भए पनि राहत हुन्छ । तर  दिउँसो  घाम लागेको खण्डमा प्रदूषणको मात्रा र प्रभाव खासै घट्दैन।

केहि दिनदेखि काठमाडौँको प्रदुषण अत्यन्त खराब भएको छ।  खुल्ला हावामा मात्रै नभएर बन्द घर भित्र बस्दा पनि आँखा पिरो हुने, स्वाश फेर्न गारो भएको महसुस भैरहेको छ।

चैत्र १ गतेको दिनको तथ्यांकलाइ हेर्ने हो भने  PM10 को मात्र ३१५ र PM  2.5 को मात्र २५० माइक्रो ग्राम घन मिटरको  हाराहारी देखियो। PM10 र PM  2.5 को अनुपात १.२ हुन्छ।  यो अनुपात २ भन्दा तल हुनु भनेको गाडी प्रदुषण, औद्योगिक प्रदुषण,  कृषि बाली जलाउने आदि कार्यले हुने गर्दछ।  WHO को दिशानिर्देश मापन मात्र  PM10 को लागि  १५ र PM  2.5 को लागि ५ माइक्रो ग्राम घन मिटर छ।  हाम्रो नम्बर  हेर्दा थाहा हुन्छ, हामी कस्तो भयानक बायु प्रदुषणको अवस्थाबाट गुज्रिरहेका छौ र स्थिति कति भयाबह  र जोखिमयुक्त छ।

 

चित्र : काठमाडौँको बायु प्रदुषण ११ मार्च देखि १ अप्रिलसम्म (स्रोत World Live Air Quality Map | IQAir)

बिगत केहि दिनदेखि काठमाडौँको बायु प्रदुषण अत्यन्त खराब रहेको र विश्वको प्रदुषित सहरमा माथिल्लो अंकमा रहेको देखिन्छ।  केहि दशक अगाडिसम्म काठमाडौँको बायु प्रदुषण स्थानीय (लोकल) कारणले बढी हुने गर्थ्यो भने अहिले यो प्रदुषण स्थानीय भन्दा पनि बाहिरबाट आएको प्रदुषणको चपेटामा पर्न सुरु गरेको छ।

बिगत केहि दिन देखिको काठमाडौँ लगायत नेपालको अरु क्षेत्रमा बायु गति, बायु दिशा र छिमेकी भारतीय सहरहरुको तथ्यांक हेर्दा अहिलेको काठमाडौँ र अरु नेपाली सहरहरुको बायु प्रदुषण अत्यधिक हुनुमा भारतको पन्जाबदेखि  दक्षिण दिल्ली, पटना  र बनारस तिरबाट आएको  प्रदुषित हावालाइ मान्न सकिन्छ।  यी भारतीय सहरहरुमा प्रदुषण चैत्रको पहिलो हप्तादेखि निरन्तर बढ्दै गएको देखिन्छ ।  यसैको कारण काठमाडौँ लगायत नेपालका सहरहरुमा यसको प्रत्यक्ष प्रभाब परेको देखिन्छ र बिगत केहि हप्तादेखि अत्यधिक भएको अनुमान लगाउन सकिन्छ।  अहिलेको हाम्रो अवस्था भनेको समय कुर्नु, वर्षा कुर्नु र बायुको दिशा प्रत्यक्ष नेपालतिर नसोझिनु मात्रै हो।

चित्र : भारतबाट आइरहेको प्रदुषित बायुको प्रवाहित दिशा   (स्रोत- World Live Air Quality Map | IQAir)

काठमाडौँको बायु प्रदुषणमा ट्रान्स-बाउन्ड्रीको प्रभाब, प्रदुषणले मानिसहरुको स्वास्थ्यमा के कस्तो तत्काल र दिर्घकालिन प्रभाबको बिषयमा गहिरो र बृहत अध्ययन र अनुसन्धान हुन जरुरी देखिन्छ।

अहिलेको अवस्थामा यो प्रदुषण बाट बच्न घर बाहिर सकेसम्म ननिक्लने, बिशेष गरेर बाल बालिका र प्रौढहरु सकेसम्म ननिक्लने निक्लनु परे मुखमा  राम्रो खालको मास्क लगाएर मात्र निक्लने , दम र श्वासप्रश्वास सम्बन्धि समस्या हुने हरुले बिशेष साबधानी अपनाउने , घरको झ्याल ढोका सके सम्म खुल्ला नराख्ने गर्नु पर्छ।

किन काठमाडौँ वायु प्रदूषणको चपेटामा छ त ?

काठमाडौँ संस्कृति, सभ्यता र कलाको नमूना हो। यो अद्भुत सहर कुरुपतातिर धकलिएको धेरै भयो। यहाँका स्वच्छ नदीनाला, मलिलो माटो र स्वच्छ वायु कल्पना गर्नै नसकिने गरी भताभुङ्ग भएको छ। विगत केही दिनदेखि काठमाडौँ विशेषगरी वायु प्रद्रषणको अग्रपङ्क्तिमा उभिएको छ।

काठमाडौँ एउटा खाल्डो हो । चारैतिरबाट पहाडले घेरिएकोले काठमाडौँमा राम्रोसँग वायु स्थानान्तरण (भेन्टिलेसन) हुँदैन। यसको अर्थ हुन्छ काठमाडौँमा रहेको प्रदूषित हावा त्यति सजिलोसँग निकास हुँदैन। फलतः काठमाडौँमा निस्केको धुवाँ र धुलो यही खाल्डोभित्र निरन्तर थुप्रिरहन्छ। गर्मीको समयमा काठमाडौँको सतह र वरिपरि पहाड केही तात्ने भएको हुनाले तल थुप्रिएको प्रदूषण केही उचाइमा पुग्दछ र पश्चिमबाट चल्ने हावाले त्यसलाई काठमाडौँबाट निकाल्न सहयोग गर्दछ। तर जाडोको मौसममा या भनौँ तापक्रम कम भएको बेलामा यो प्रक्रिया बिथोलिन्छ र काठमाडौँको वायुको निकास हुन नसकी त्यहीँ रहिरहन्छ। फलतः काठमाडौँमा निरन्तर निक्लेको प्रदूषण त्यहीँ जम्मा भई विकराल रुप लिन्छ।

यो पनि पढ्नुहोस-कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?

डब्लुएचओले वायु प्रदूषणको नियन्त्रण गर्न र यसको गुणस्तर क्रमिकरुपमा सुधार गर्नका लागि विभिन्न दिशानिर्देश गरेको छ । हाम्रो जस्तो उच्च वायु प्रदूषणस्तरसँग संघर्ष गरिरहेका लागि यो अत्यन्त गाह्रो काम हुनेछ किनकि नेपालमा वायु प्रदूषणको मात्राको सीमा राम्रोसँग कागजमा तोकिएको बिसौँ वर्ष बितिसकेको छ, त्यो संँ सरकारको दिशानिर्देशभन्दा माथि वायु प्रदूषणको मात्रा भएको पनि दुई दशकभन्दा बढी भइसक्यो तर विडम्बना नीति नियम र दिशानिर्देश कागजको खोस्टामा नै सीमित रह्यो ।

त्यसैले के निर्क्यौल निकाल्न सकिन्छ भने काठमाडौँको अहिलेको प्रदूषणको भयावह स्थिति विगत तीन दशकमा अलिकति पनि विवेक र ज्ञान भएको सरकार र त्यससँग सम्बन्धित नीति निर्माण गर्ने निकाय, थाहा पाए पनि रत्तिभर समाधानको सिन्को नभाँच्ने नीति निर्माताको उपज हो । बाँच्नका लागि स्वच्छ हावा चाहिन्छ भन्ने थाहा हुँदाहुँदै बिहान निक्लेको हामी बेलुकी घर छिरेर, हात, नाक र मुख पखाल्दा कालो फोहोर आउँदा आउँदै पनि त्यसको आवाज नउठाउने हामी आम नागरिक पनि त्यति नै दोषी छौँ।

दिन प्रतिदिन हामीले हाम्रो स्वास्थ्य अत्यन्त नराम्रो तवरले खेलबाड गर्यौँ तर त्यो सँगसँगै हामीले हाम्रा बालबालिकालाई कहिले नछोड्ने श्वासप्रश्वासको दीर्घरोगी पनि बनायौँ र यो क्रम कहिलेसम्म जारी रहने हो भन्न सकिन्न ।

समाधानका केही उपायहरु

१. नागरिकमा वायु प्रद्रूषणको चेतना, त्यसको असरलाई व्यापकरुपमा जानकारी गराउने ।

२. सकेसम्म इन्धनको प्रयोग कम गर्ने र वैकल्पिक ऊर्जा र इन्धनलाई प्रोत्साहन गर्ने ।

३. स्वच्छ र विकसित प्रविधिको प्रयोग गर्ने र प्रदूषण कम उत्सर्जन गर्ने ।

४. फोहोरजन्य वस्तुहरुको सही व्यवस्थापन गर्ने र फोहोरजन्य वस्तुबाट निक्लेको इन्धन (मिथेन ग्यास) लाई सदुपयोग गर्ने ।

५. उद्योग र कलकारखानामा प्रदूषण कम गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने, ठूला कलकारखाना र उद्योगलाई काठमाडौँबाहिर विस्थापित गर्ने ।

६. काठमाडौँका केही स्थानमा अग्ला भ्याकुम चिम्नी निर्माण गर्ने र वायुमा रहेको प्रदूषणलाई संकलन गरी व्यवस्थापन गर्ने ।

७. काठमाडौँमा बसाइँसराइ लाई निरुत्साहित गर्ने ।

८. काठमाडौँको जनसंख्या र जनघनत्वलाई विस्तारै घटाउँदै जाने (वैकल्पिक नमूना सहरको दिगो विकासको योजना ल्याएर कार्यान्वयन गर्ने) ।

९. काठमाडौँ आउनु पर्ने बाध्यतालाई कम गर्ने (विकेन्द्रीकरण गर्ने) र केही मुख्य कार्यालयहरु काठमाडौँबाट स्थानान्तरण गर्ने र यो प्रक्रियालाई निरन्तरता दिँदै सकेसम्म धेरै केन्द्रिय कार्यालय काठमाडौँ बाहिर सार्ने ।

यी माथि उल्लेख गरिएका (या अरु हुन सक्ने) समाधानका उपायहरु के, कति, कसरी र दिगोरुपमा लागु गर्न सकिन्छ त्यसका लागि स्थानीय सरकार र केन्द्रिय सरकारले तत्काल कदम चाल्नु पर्ने देखिन्छ। यो विषयलाई लिएर सरकार कति गम्भीर छ भन्ने कुरा यसले ल्याउने नीति नियम र व्यवस्थापनले देखाउने छ।

वातावरणविद् अर्यालसँग करिब २१ वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्‍न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्‍वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्‍न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् ।