
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आयोगमा चैत्र १९ गते C- ०५७९०७ – ०१५२६२३८५ नम्बरमा दर्ता भएको उजुरीमा निश्चित कम्पनीलाई फाइदा हुनेगरी टेण्डर आब्हान गरिएको उल्लेख छ ।
यस प्रकरणमा प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको छ ।
यस्तो छ अख्तियारमा परेको उजुरीको पूर्णपाठ
नेपाल टेलिकमबाट मिति मार्च १८, २०२५ मा आवहान भएकोे नया एकिकृत विलिंग प्रणाली सम्बन्धी बोलपत्र (IFB No. NDCL/CTO/ICB/07/081-82 for Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing and Customer Support System in Virtualized Platform)मा सार्वजनिक खरिद सम्बन्धी नियम, नेपाल टेलिकमको बिगतको अभ्यास, अन्तर्राष्ट्रिय मान्यता आदिको आधारमा नेपाल टेलिकमवाट भएको त्रुटीको यथाशिघ्र आवश्यक छानबिन गरी सो बोलपत्रमा आवश्यक संशोधनको लागि उपयुक्त आदेश वा निर्देशन जारी गरि पाऊँ ।
क) पृष्ठभुमि:
कुनै पनि टेलिकम अपरेटरको लागि विलिङ प्रणाली अत्यन्त महत्वपूर्ण तथा एक अभिन्न अंग हो । सेवाग्राहीले प्रयोग गर्ने सम्पूर्ण सेवा सोही विलिङ प्रणाली मार्फत् बिल जारी भई कम्पनीलाई आम्दानी हुन्छ र सोही विलिङ प्रणालीबाट नियमानुसार लाग्ने कर समेत हिसाब हुने गर्दछ । यो विलिङ प्रणाली प्रविधि मैत्री र आधुनिक हुनु आवश्यक छ भने यो प्रणालीलाई सुचारु रुपले चुहावट रहित तवरले सफलतापूर्ण संचालन गर्न कम्तीमा पनि ७५ देखि १०० जनासम्मको दक्ष जनशक्ति मार्फत् नियमित मर्मत सम्भार गर्न समेत आवश्यक रहन्छ । अन्यथा सो प्रणाली ह्याक हुने, चुहावट हुने तथा प्रणालीमा विविध आन्तरिक समस्या उत्पन्न भई नेपाल टेलिकमलाई करोडौंको क्षति हुन्छ । सेवा प्रदायक कम्पनीलाई विश्वास गरी सेवाग्राहीले प्रयोग गर्ने सेवा वापतको बिल भुक्तानी गर्ने हुँदा यो प्रत्यक्ष रुपमा सार्वजनिक सरोकारको विषय समेत हो।
नेपाल टेलिकम लिमिटेड सरकारी तथा सार्वजनिक स्वामित्व रहेको एक प्रतिष्ठित सार्वजनिक कम्पनी हो । नेपाल टेलिकम लिमिटेडमा वस्तु तथा सेवा खरीद सम्बन्धमा अनियमितता रहेको सम्बन्धमा बेला बेलामा पत्र पत्रिकामा समाचार प्रकाशन हुने, नियमनकारी संस्थाले छानबिन गर्ने तथा नेपाल टेलिकम समेत उपर मुद्दाहरु समेत दायर हुने गरेका छन् । हाल कायम विलिङ प्रणालीको लागि एशिया इन्फो र नेपाल टेलिकमको बिचमा सन् २०११ डिसेम्बरमा सम्पन्न भएको सम्झौता र उक्त कम्पनीसँग पुन: ४+१ बर्षे वार्षिक मर्मत सम्बन्धी सम्झौता अपारदर्शी भएको र उक्त कम्पनीले प्रदान गरेको सेवा र विलिङ प्रणालीमा चुहावट र अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेको नै छ ।
नेपाल टेलिकमवाट हाल संचालित विलिंग प्रणालीलाई विस्थापित गरी नयाँ विलिंग प्रणाली (CRTB System) लाई अन्तर्राष्ट्रिय बोलपत्र आहवान मार्फत आपुर्ति गरी संचालन गर्ने निर्णय भई सो को लागि मिति March 31, 2024 मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्रमा समावेश गरिएका बोलपत्रदाताको योग्यताको मापदण्ड तय गर्दा पूर्वाग्राही तथा सुनुयोजित तवरले गरिएको हुँदा उक्त बोलपत्र आह्वान अन्तरगत एक मात्र बोलपत्रदाता सहभागी भएको तथा निजवाट पेश भएको बोलपत्र प्रस्ताव पनि सारभुत रुपमा प्रभावगाही ठहर नभएकोले उल्लेखित मिति March 31, 2024 को बोलपत्र रद्ध गरिएको थियो । यस्तो संवेदनशिल विलिङ प्रणाली पारदर्शी रुपमा स्वच्छ प्रतिस्पर्धाबाट विश्वव्यापी रुपमा अनुभव भएका अन्तर्राष्ट्रिय कम्पनीहरुलाई प्रतिस्पर्धा गराउनु पर्नेमा नेपाल टेलिकमका केही पदाधिकारी तथा कर्मचारी करोडौंको आर्थिक प्रलोभनमा परी आफूले चाहेको एक वा दुई सिमित कम्पनीलाई मात्र लक्षित गरी बोलपत्रलाई परिमार्जन गरी मिति March 18, 2025 मा पुन: बोलपत्र (टेण्डर नं. += IFB No. NDCL/CTO/ ICB/07/081-82 for Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing and Customer Support System in Virtualized Platform) आह्वान गरिएको छ। यस्तो विवादास्पद अवस्था हुँदाहुँदै विद्यमान प्रणालीमा रहेका समस्याहरुलाई ध्यानमा राखेर सुरक्षित, प्रविधि मैत्री र कम खर्चिलो प्रणाली खरिद गरि सेवाग्राहीलाई उच्च स्तरीय सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित हुनुपर्नेमा नेपाल टेलिकमले पुन: आह्वान गरेको बोलपत्रको शर्तहरुको अध्ययन गर्दा बोलपत्र तयार गर्ने व्यवस्थापन तथा प्राविधिक टिमले पुन: निहित स्वार्थ र करोडौंको आर्थिक चलखेलको प्रलोभनमा परी यति संवेदनशिल विलिङ प्रणालीको बोलपत्र आह्वान गर्दा पूर्वाग्रही ढंगले निम्न बमोजिम अनियमितता भएको व्यहोरा प्रकाश पार्न चाहन्छु।
(ख) Convergent Real Time Billing and Customer Support System in Virtualized Platform सम्बन्धी बोलपत्र कागजातलाई परिमार्जन गर्दा नेपाल टेलिकमबाट भएका अनियमितताहरु:
१. नेपाल टेलिकमको बोलपत्र आह्वान गर्ने ईतिहासमा नै नभएको नौलो, अपारदर्शी, पूर्वाग्राही तथा बाध्यात्मक व्यवस्थाको समावेश : बोलपत्र कागजात परिमार्जन गर्ने क्रममा नेपाल टेलिकमवाट यस अगाडी मिति March 31, 2024 मा आहवान गरिएको बोलपत्र अन्तर्गतको बोलपत्र कागजातमा समावेश नभएका केही नौला व्यवस्था जस्तै घोषणा पत्र (Declaration Letter) हरु बोलपत्रदातावाट अनिवार्य रुपमा पेश गर्नु पर्ने जस्ता व्यवस्थाहरु समेत समावेश गरिएको छ । विश्व प्रसिद्ध अनुभवि र न्युनतम प्रतिस्पर्धी मुल्यमा बोलपत्र दायर गर्न सक्ने अन्तर्राष्ट्रिय कम्पनीहरुलाई प्रतिस्पर्धाबाट बन्चित गर्ने गरी नेपाल टेलिकमको बोलपत्र आह्वान गर्ने ईतिहासमा नै नभएको, नेपाल टेलिकमको बोलपत्र आह्वान सम्बन्धी निर्देशिका तथा सार्वजनिक खरीद ऐन तथा नियमावली समेतमा नभएको नौलो अपारदर्शी, पूर्वाग्राही तथा बाध्यत्मक व्यवस्था राखी अघिल्लै बोलपत्र आह्वानमा झै टेलिकमका केही पदाधिकारीहरु आफुले चाहेको १ वा २ वटा बोलपत्रदाताहरु माझ मात्र कृत्रिम प्रतिस्पर्धा गराई आफनो स्वार्थ पुरा गरी टेलिकमलाई ठुलो आर्थिक हानी नोक्सानी गराउन टेलिकमका केही पदाधिकारीहरु लागि परेका छन । नेपाल टेलिकमको ईतिहासमा आह्वान भएका अरबौं रुपैयाँको Landline, CDMA, GSM जस्ता अन्य कुनै पनि बोलपत्रहरुमा र विलिङ प्रणालीकै Asia Info सँगको सन् २०११ को सम्झौता हुँदाको बोलपत्र र यसै विलिङ प्रणाली खरीदको लागि यस अघि मितिMarch 31, 2024 मा आहवान गरिएको CRTB को बोलपत्रमा पनि यस्तो घोषणा पत्र (Declaration Letter) को व्यवस्था गरिएको थिइएन भने यही बोलपत्रमा मात्र यो व्यवस्था समावेश गरिनु पूर्ण रूपमा संकास्पद छ ।
२. बोलपत्रको Section II sf] Clause No. ITB 12.2 (h) (xi) ‘Declaration Regarding Not-Supplying Billing System to Competitors of Nepal Telecom:
यस अगाडीका बोलपत्र कागजातमा समावेश नगरिएको तर प्रस्तुत परिमार्जित बोलपत्र कागजातमा Section II को Clause No. ITB 12.2 (h) (xi) अन्तर्गत समावेश गरिएको नँया व्यवस्था समेत सुनियोजित ढंगवाट आफुले चाहेको Vendorको बलियो प्रतिस्पर्धीहरुलाई बोलपत्र आहवानमा सहभागी हुनबाट वञ्चित गराई आफुले चाहैको Vendor लाई अत्यधिक लागतमा करोडौंको चलखेल गरी विलिङ ठेक्का उपलब्ध गराउने सुनियोजित योजना रहेको देखिन्छ ।
प्रस्तुत बोलपत्र आहवान अन्तर्गतको परिमार्जित बोलपत्र कागजातको Section II को ] Clause No. ITB 12.2 (h) (xi) को व्यवस्था वमोजिम प्रस्तुत बोलपत्र आहवानमा सहभागी हुन बोलपत्रदाताहरुले नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनीहरुलाई आफनो विलिंग सिस्टम सप्लाई नगरि रहेको हुनुपर्ने तथा सम्झौता सम्पुर्ण रुपमा सम्पन्न नहुन्जेल प्रतिस्पर्धी कम्पनीहरुलाई सप्लाई नगर्ने प्रतिबद्धता सम्बन्धी घोषणा–पत्र (Declaration Letter) बोलपत्र प्रस्तावका साथ अनिवार्य रुपमा पेश गर्नु पर्ने उल्लेख भएको छ । यस नयाँ व्यवस्था अन्र्तगत नेपाल टेलिकमको मुलभुत उद्देश्य र ईच्छा आफनो प्रतिस्पर्धी कम्पनीहरुमा विलिङ सिस्टम हाल सप्लाई गरिरहेको vendor हरु प्रतिस्पर्धामा सहभागी हुन नसकुन् र अन्तर्राष्ट्रिय अनुभवी कम्पनीहरुले यस बोलपत्रमा चासो नदिउन् भन्ने रहेको देखिन्छ । यस प्रकारको उल्लेखित घोषणा पत्रको व्यवस्था निम्न कारणहरुवाट अनावश्यक, औचित्यहिन तथा टेलिकमको लागि अहितकारी हुने देखिन्छ ।
२.१ नेपालमा कार्य गरेको अनुभव भएका Vendor हरुको सहभागिताको फाईदाहरु (Benefits of Participation of Vendors having experience in Nepal)
नेपालमा सामान तथा सेवा आपुर्ति गरिरहेका Vendor हरुलाई प्रतिस्पर्धामा सहभागी हुन नदिने हो भने उक्त Vendor हरुले वर्षाै देखि आर्जन गरिरहेको नेपालको Telecom Networks तथा Subscriber को Trained Manpower सम्बन्धी बृहत अनुभव जानकारी तथा cost effectiveness को आधारमा smooth operation हुनबाट र यथार्थ परक न्युनतम रकममा विलिंग सिस्टम आपूर्ति गर्न सक्ने क्षमताको सदुपयोग गर्नवाट नेपाल टेलिकम बन्चित भएको देखिन्छ भने निजहरुको नेपालसंगको व्यापक अनुभवको फाईदा लिई सम्झौताको कार्यान्वयन समयमै तथा सफलतापुर्वक सम्पन्न गर्ने सम्भाव्यता गुमाएको छ । नेपालमा अनुभव भएका कम्पनी तथा जनशक्तिले विलिंग प्रणाली transition गर्दा छिटो छरितो हुने गर्दछ र समस्याको हल तथा निराकरण पनि छिटो हुने गर्दछ । यसको साथ साथै नेपालमा अनुभव नभएका कम्पनीहरुले सेवा प्रदान गर्दा Manpower लाई Train गर्न गराउन समय तथा खर्च लाग्ने हुन्छ जुन कुराले आयोजनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्ने गर्दछ ।
२.२ सम्मानित सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरिएको
सम्मानित सर्वोच्च अदालतवाट ०८०–WO–१२९९ को उत्प्रेषण मुद्दामा मिति २०८१।०५।२५ मा भएको अन्तिम आदेशमा स्वार्थ नबाझिने गरी बोलपत्र परिमार्जन गर्न सम्मानित अदालतबाट सर्वोपरी हितलाई विचार गरी निर्देशन भएकोमा उक्त मुद्दा नै नेपाल टेलिकमका केही पदाधिकारीहरुले आफैैले हाल्न लगाएको अनुभूति भएको छ । सम्मानित अदालतको निर्देशनको मनसाय र व्याख्याको अपव्याख्या गरी नेपाल टेलिकमका अन्य प्रतिस्पर्धी कम्पनीमा विलिङ प्रणाली सप्लाई कार्य गरिरहेको Vendor ले बोलपत्र आह्वानमा सहभागी हुन नपाउने व्यवस्था बदनियतपुर्वक तथा व्यक्तिगत स्वार्थको लागि सम्मानित अदालत जस्तो मर्यादित र नियमनकारी निकायले दिएको आदेशको पूर्ण पालनाको वेवास्ता गरी आदेशको अपव्याख्या गरी Strict Non-Disclosure agreement, Strict Penalty clause आदिको व्यवस्था करारमा गरी अन्य कम्पनीमा सेवा प्रदान गरी रहेको अनुभवि र दक्ष कम्पनी समेतलाई बोलपत्रमा समावेश हुने वातावरण मिलाउनु पर्नेमा सोको उल्टो बोलपत्रमा सहभागी हुनबाट अयोग्य ठहराउने गरी भएको उक्त बोलपत्र आह्वान सम्मानित सर्वोच्च अदालतको आदेशको मर्म विपरित छ ।
२.३ एक नेटवर्कको सप्लायरले अर्को नेटवर्कको वस्तु तथा सेवा खरीदमा सहभागी हुन नपाउने गरी नेटवर्क र सप्लायरहरुको बिचमा भागवण्डा वा गुटबन्दीको अवस्थाको सृजना हुने:
नेपाल टेलिकमवाट अव्यवहारिक र निहित स्वार्थमा प्रेरित भई प्रतिस्पर्दालाई पारदर्शी नगर्ने, करोडौ रुपियाको चलखेल गरी केहि निहित कम्पनीलाई मात्र बोलपत्रमा समावेश गर्ने गरी यस प्रकारको व्यवस्था विलिंग सिस्टमको खरिदमा समावेश गरिएमा उक्त व्यवस्था अन्य नेटवर्कका सामान खरिदमा समेत टेलिकमवाट समावेश गर्नु पर्ने अवस्था अनिवार्य रुपमा सृजना हुन जान्छ । यस अवस्था नेपाल टेलिकमको हालको Network Vendor हरु कुनै पनि खरिदमा सहभागी हुन नसक्ने हुन्छ । किनकी, नेपाल टेलिकममा GSM तथा Transmission नेटवर्क सिस्टमहरु हाल सप्लाई गरिरहेको सम्पुर्ण Network Vendor हरुले टेलिकमको प्रतिस्पर्धी कम्पनीलाई समेत नेटवर्कहरु सप्लाई गरिरहेका छन । यसबाट अन्तत: महँगो सामान मात्र खरिद गर्नु पर्ने, आवश्यकता अनुसार मर्मत सम्हार नहुने साथै smooth operation नभई टेलिकम संचालन नै धराशायी हुने अवस्था आउछ ।
२.४ यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास (International Practice)
नेपाल टेलिकमवाट अनुसरण गर्न खोजिएको यस प्रकारको अभ्यास अन्तर्राष्ट्रिय अभ्यास विपरित समेत भएको देखिन्छ । यस सम्बन्धमा अध्ययन गर्दा विश्वका विभिन्न मुलुकमा अवस्थित एउटै देशका विभिन्न टेलिकम अपरेटरहरुले एउटै Vendor को विलिंग सिस्टम प्रयोग गरेको पाईएको छ।
उदाहरणको लागि Amdocs भन्ने Billing System Vendor ले Philippines मा PLDT (National Operator) तथा Globe मा विलिंग सिस्टम सप्लाई गरिरहेको छ । त्यस्तैै USA का अधिकांश टेलिकम अपरेटरहरुलाई CSG भन्ने Billing System Vendor ले आफनो विलिंग सिस्टम तथा सेवाहरु सप्लाई गरिरहेका छन् । Ericsson ले Egypt मा Orange, ET, Vodacom र Bangladesh मा GP तथा Bangalink मा विलिंग सिस्टम सप्लाई गरिरहेको छ ।
यसरी विश्वजगतमा नै एक टेलिकम कम्पनीमा सेवा प्रदान गरी रहेको एउटा कम्पनीले अर्को कम्पनीमा समेत सेवा प्रदान गरी आएको, बोलपत्रमा समावेश भई आएको अन्तर्राष्ट्रिय अभ्यासलाई नै लत्याएर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुले अन्तर्राष्ट्रिय रुपमा नै नेपाल प्रतिको सोचाई र विश्वासमा प्रश्न खडा गरेको छ ।
३. योग्यताको आधार उत्कृष्ठ रुपमा तय गरिएको तर सो योग्यता पुरा गर्नेलाई बचित गरिएको
समय सापेक्ष अत्याधुनिक सेवा सुविधा तथा प्रविधि खरिद गर्न तथा अधिकतम आय (Revenue) आर्जन गर्न अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध भएका Business Model को जानकारी तथा प्रयोग गरी Revenue Management गर्न सक्ने Vendor को सहभागिता हुने गरी नेपाल टेलिकमले विशेष प्रकारको योग्यताको आधारहरु जस्तै Gartner’s Market Guide for RM&M तथा CM&X जस्ता Gartner का प्रतिवेदनहरुमा Listing भएका Vendor हरुमात्र सहभागी हुन सक्ने गरी योग्यत तय गरेको छ भने अर्को तिर उक्त सम्पुर्ण योग्यता पुरा गर्ने Vendor लाई Declaration Letter को आवश्यकतावाट बोलपत्रमा सहभागी हुनबाट वञ्चित गराउन प्रयास गरिएको छ । नेपाल टेलिकमको यस प्रकारको सोच अपारदर्शी र निहित स्वार्थ बाट प्रेरित रहेको प्रस्ट हुन्छ । Gartner जस्तो गरिमामय Research Organization को प्रतिवेदनहरुमा Listing हुन Vendor हरुको अनुभव तथा क्षमता मात्रको मुल्यांकन गरिदैन । बल्की, Vendor हरुको आचरण, विगतमा गरिएको राम्रा तथा नराम्रा कार्यहरुकौ विष्लेषण गरी तथा गोपनियतता कायम गर्न सक्ने क्षमताहरुलाई पनि त्यत्तिकै महत्व दिई गहन रुपमा विचार गरि मात्र प्रतिवेदनमा Listing गरिन्छ । यस परिप्रेक्षमा नेपाल टेलिकम तथा प्रतिस्पधीको Vendor एउटै भएमा समस्या हुन सक्छ भन्ने सोच राख्नु असान्दर्भिक तथा कपोल्कल्पित मात्र हुन्छ । यसको ज्वलन्त उदाहरण माथी बुदा नं. २.४ मा प्रष्ट उल्लेख गरिएको छ अर्थात विश्वका विभिन्न मुलकका कतिपय टेलिकम अपरेटरहरले एउटै Vendor वाट सामान तथा सेवा उपलब्ध गरिरहेका छन । यसको वावजुद पनि टेलिकम अझ विश्वस्त हुन चाहन्छ भने गोपनियतता सम्झौता (Non-Disclosure Agreement) को अबधारणा समेत बोलपत्रमा समावेश गर्न सक्दछ । तर यस्ता असान्दर्भिक कारणवाट प्रतिस्पर्धा खुम्च्याउनु भनेको ऐन विपरित जानु हुन्छ ।
४ नेपालमा बोलपत्र कागजातमा उल्लेखित योग्यताको आधार परिवर्तन गर्ने अभ्यास
बोलपत्र आहवान सुचना जारी भए पश्चात बोलपत्र कागजातमा उल्लेखित योग्यताको आधारमा कमी कमजोरी भई प्रतिस्पर्धा खुम्चन जाने अवस्था सृजना भएको अवस्थामा योग्यताको आधार आवश्यकता अनुसार अधिकतम प्रतिस्पर्धा हुने गरी परिमार्जन गरिने परिपाटी विगत देखिनै नेपालमा कार्यान्वयन भई रहेको छ । बिगतको अभ्यास हेर्दा केहि संवेदनशील प्रोजेक्टहरुको बोलपत्र आवहान पछि योग्य कम्पनीहरुबाट आएका गुनासो तथा Pre bid meeting मा उठेका बुंदाहरुको समिक्षा गर्दै बोलपत्र प्रकृयालाई अझै पारदर्शी बनाई बढी भन्दा बढी सक्षम कम्पनीहरुलाई समावेश गर्ने गरी नियमपूर्वक बोलपत्रका योग्यताका आधारलाई परिमार्जन गरेको पाइन्छ। उदाहरणको लागि नेपाल पासपोर्ट विभागवाट हालसालै पासपोर्ट खरिदको लागि गरिएको बोलपत्र आहवान सुचना प्रकाशित भए पश्चात योग्यता सम्बन्धमा व्यापक गुनासो प्राप्त भएको आधारमा स्वच्छ तथा बृहत प्रतिस्पर्धा हुने गरी पासपोर्ट विभागवाट हालसालै योग्यता परिमार्जन गरिएको थियो ।
यसर्थ, एकातिर प्रविधिको माग, Globalization जस्ता Process जसले विश्वभरका व्यवसाय, संस्कृतिहरु तथा अर्थव्यवस्थाहरुलाई अन्तरआवद्ध (Interconnected) तथा अन्तरनिर्भरता (Interdependent) गरी विश्वलाईनै एक Global Village को रुपमा रुपान्तरण गर्ने कार्य भई रहेको छ भने नेपाल टेलिकमका केही प्रलोभनलुप्त पदाधिकारीहरुवाट आफनो आर्थिक स्वार्थ पुरा गर्न स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरित प्रतिस्पर्धी कम भन्दा कम समावेश होस भन्ने कुनियतले बोलपत्रमा अनावश्यक व्यवस्था समावेश गरी आफनो व्यक्तिगत स्वार्थको लागि नेपाल टेलिकमलाई करोडौको ठुलो हानीनोक्सानी हुने कार्य हुन गई रहेको हुँदा उक्त बदनियतपुर्ण कार्यलाई तत्काल रोक्न नितान्त आवश्यक रहेको छ ।
अत: नेपाल टेलिकमको मुटु नै मानिने यति संवेदनशिल विलिङ प्रणाली स्वच्छ पारदर्शी रुपले प्रतिस्पर्धा गराई खरीद गर्नुपर्नेमा सम्मानित सर्वाेच्च अदालतबाट ०८०–WO–१२९९ को उत्प्रेषण मुद्दामा मिति २०८१।०५।२५ मा भएको अन्तिम आदेशको समेत अपव्याख्या गरी नेपाल टेलिकमका केही पदाधिकारीले करोडौंको प्रलोभनमा परी सार्वजनिक खरीद ऐन, नियम तथा व्यवस्थाको विपरित टेलिकमको ईतिहासमा नै नभएको व्यवस्था संलग्न गराई पूर्वाग्राही रुपमा नियोजित कम्पनीलाई टेण्डर पार्ने कुनियत राखेको प्रष्ट हुँदा नेपाल टेलिकमको विगतमा अरबौं लागत पर्ने GSM, CDMA, LANDLINE खरीद बोलपत्रमा, र विलिङ प्रणालीकै Asia Info सँगको सन् २०११को सम्झौता हुँदाको बोलपत्र र यसै विलिङ प्रणाली खरीदको लागि यस अघि मिति March 31, 2024 मा आहवान गरिएको CRTB को बोलपत्रमा समेतमा सो व्यवस्था (Section II को Clause No. ITB 12.2 (h) (xi)) नरहेको कुरा सर्वविदितै रहेको अवस्थामा नेपाल टेलिकमबाट आपूर्ति गर्न लागिएको नयाँ एकिकृत विलिगं प्रणाली (Convergent Real Time Billing (CRTB) System) सम्बन्धी मिति March 18, 2025 को पुन: बोलपत्र (टेण्डर नं. IFB No. NDCL/ CTO/ ICB/07/081-82 for Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing and Customer Support System in Virtualized Platform) को बोलपत्र कागजातको Section II को Clause No. ITB 12.2 (h) (xi) “Letter stating that the bidder is not supplying and shall not supply billing system to the competing telecom operators of Nepal Telecom until the completion of all the contractual obligation and until the end of Annual Maintenance Contract.” लाई सो बोलपत्रबाट यथासीघ्र हटाई नेपाल टेलिकमबाट भएका अनियमितताहरुको आवश्यक छानबिन गरी पारदर्शी रूपबाट सम्पूर्ण सक्षम अन्तर्राष्ट्रिय कम्पनीलाई सहभागिता गराउने व्यवस्था मिलाउन उपयुक्त आदेश वा निर्देशन जारी गरि पाऊँ ।