१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध सदन खुलाउन सभामुखले आह्वान गरेको छलफल निष्कर्षविहीन



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्न प्रमुख दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहिन भएको छ ।

बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्न संसद् भवन नयाँ वानेश्वरमा बैठक बसेको थियो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार थप छलफल भइरहेको र आजै संसद खुलाउने प्रयास जारी छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली भने सदनमा जवाफ दिने मुडमा छैनन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन ।