
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
विहीबार दिउँसो सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् ।
बुधबार नै सर्वोचमा रिट निवेदन दिए पनि उनको रिट आज दर्ता भएको हो । शाक्यलाई चैत १५ गते १० बजे पेशी तारेखमा अदालतमा हाजिर हुन भनिएको छ ।
यसअघि २५ साउन २०७८ मा तत्कालीन सरकारले सो समयका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर कुलमान घिसिङलाई सो पदमा नियुक्त गरेको थियो ।
सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि चार वर्षसम्म त्यसमाथि फैसला हुन सकेको छैन ।
शाक्यले आफ्नो कार्यकाल बाँकी रहँदाको बखत नियुक्त भएका कुलमान घिसिङको नियुक्ति नै अवैधानिक भएकाले अहिले उनको कार्यकाल बाँकी नै नरहेको जिकिर गरेका छन् ।
आफूलाई तत्कालीन सरकारले बर्खास्त गरेको नभई सरुवा गरेको र त्यो आफूले अस्वीकार गरिसकेको अवस्थामा प्राधिकरणबाट त्यस अवधिमा पाउनुपर्ने सेवा सुविधा समेत दिलाई पाउँ भन्ने उनको माग छ ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गराइएका घिसिङले पनि बिहीबर नै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । आफ्नो कार्यकाल बाँकी छँदै अवैधानिक रुपमा हटाइएको भन्दै घिसिङले उक्त निर्णय कार्यान्वयन नगर्न माग गरेका छन् ।