काठमाडौं । गएको चैत ११ देखि बन्द रहेका लामो दुरीका यातायात तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि खुल्ने भनी यसअघि सरकारले निर्णय गरेकोमा अब नुलैन भएको बताइएको छ ।कोभिड—१९ संकट व्यवस्थापन सेन्टर, सीसीएमसीको आइतबार बसेको बैठकले भदौ १ बाट खुल्ने भनिएको यो सेवा नखुल्ने भन्दै थप १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।
सिसिएमसीको यस प्रस्तावमा अब नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नेछ । मन्त्रिपरिषद्को यही साउन ५ गतेको बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
पछिल्ला केही दिनहरुमा देशभर र काठमाडौँमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।
सिसिएमसीको समाचार स्रोतले यसबारे औपचारिक निर्णय भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट हुने जनाएको छ । बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको पनि सो समाचार स्रोतले जानारी दिएको छ ।
देशमा विभिन्न जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।











