२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा कोरोना संक्रमित बढ्दो, आइसोलेसन सेन्टर व्यवस्थापनमा बल्ल जुट्यो स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौँ । उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो । मन्त्रालय सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ ।

त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ डा. अधिकारीले भने । आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा। जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो ।

तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ । भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा। श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । ‘२० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं । संक्रमित आउने क्रम जारी छ,’ उनले भने ।

आयुर्वेद अस्पताल वरिपरि खाली भवन खोजेर थप आठ सय जना व्यवस्थापन गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । मनमोहन अस्पतालले मेडिकल कलेजका लागि तयार गरेको इचंगुनारायणको भवनमा पनि दुई सय जना व्यवस्थापन गर्ने तयारी छ । ‘कीर्तिपुर र मनमोहनको भवन पनि भरिए खरिपाटीको विद्युत् प्राधिकरणको भवनलाई प्रयोग गर्ने योजना छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले भने ।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमितलाई उपचार गर्न तोकेका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय २०, पाटन अस्पतालमा ६०, केएमसीमा १ सय शय्या, टेकुमा ५४ शय्या छन् । ती सबै संक्रमितले भरिएपछि सेना र प्रहरी अस्पतालमा राख्ने निर्णय गरेको थियो । यी दुई अस्पताललाई असार २१ को मन्त्रीस्तरीय बैठकले लेभल २ मा समावेश गरेको थियो । तर, सैनिक अस्पतालले संक्रमित सेना र प्रहरीले संक्रमित प्रहरीलाई मात्रै भर्ना गर्ने भनेपछि मन्त्रालयले अर्को विकल्प अघि सारेको हो ।

सरकारी अस्पतालले मात्रै सम्भव नभए ठूला हब अस्पताल र स्याटलाइट अस्पताललाई पनि तयारी अवस्थामा राख्न छलफल भइरहेको डा। अधिकारीले बताए । धुलिखेल, सिभिल, वीर, पाटन, टिचिङ र आर्मी हब अस्पताल हुन् । यी अस्पतालको मातहतमा रहेका स्याटलाइट अस्पतालबाट संक्रमितको कसरी व्यवस्थापन गर्न सकिन्छ, योजना बनाएर ल्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । कान्तिपुर दैनिक