काठमाडौं । सर्वाेच्च अदालतमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँल ‘सेल्फ आइसोलेसन’ मा बस्नु भएको छ । बुधबार सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै न्यायधीश खतिवडाले ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी गराउनु भएको हो ।
खतिवडाले लेख्नु भएकाे छ, श्रावण २२ गते बिहीबारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाड थरका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो । नमुना २६ गते दिएको र नतिजा आज करिब १ः३० बजे थाहा भयो । त्यसैले शंकाको अवस्था पैदा भएको छ। मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दुरी कायम राखेर बसेको छु । स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीहरुसंग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ । थप नयाँ कुरा भएमा यथा समयमा सम्प्रेषण गरिने नै छ ।
यसलाई सहज र सामान्य रुपमा लिइदिनु हुन सबै शुभेच्छुक प्रियजनमा अनुरोध छ । न्यायाधीश खतिवडासंग एउटै ईजालासमा रहनु भएका अर्का न्यायाधीश हरि फुयाँल पनि ‘सेल्फ आइसोलेसन’मा बस्नु भएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण देखिएका कारण ‘सेल्फ आइसोलेसन’ मा रहनु भएको छ ।










