
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले बोल्ने समय नजिक आएको भन्दै बोल्दा धेरैको बोली बन्द हुने बताएका छन् ।
आज उच्च अदालत पाटनमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेपश्चात लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले भने– ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ, त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’
साथै, सभापति लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी समेत दिए । राजावादी आन्दोलनबारे लामिछानेलाई प्रश्न गर्दा यसबारे उनले प्रतिक्रिया दिन चाहेनन् । आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको उनले प्रस्ट पारे ।
लामिछानेले भने, ‘म आवेग उत्तेजनामा छैन । मुलुकमा गम्भीर अवस्थामा आएको छ । जिम्मेवार दलका हिसाबले, जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताका हिसाबले म आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन । मलाई तपाईंहरूको प्रश्नको आशय थाहा छ । यसले कुन अर्थ लाग्छ भन्नेमा जानकार छु । यो देशको भविष्य तपाईं हाम्रो पुस्ताको हातमा आउँदैछ । एकदमै गम्भीर हुने समय हो । म तपाईँलाई हेडलाइन दिन्न, म लाइफलाइनको कुरा गर्दैछु, तपाईं हेडलाइनको चिन्ता गर्दै हुनुहुन्छ । यो हेडलाइनमा चिन्ता गर्ने बेला होइन । यो पक्ष-विपक्षमा बाँड्ने कुरा होइन । अहिले सरकार नांगिएको हुँदा सरकारको लाज छोप्न अदालतहरुमा पुगिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । सबैलाई तयार रहन आग्रह गर्दैछु । गेट रेडी फर द रिभोलुसन ।’
लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा निवेदन दिन बाँकी छ ।
लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।