१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प



अ+ अ-

दाङ । कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् ।

व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको उहाँले बताउनुभयो । “महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्रै हुन्छ”– सुनचाँदी व्यवसायी सङ्घ प्रदेश–५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले भन्नुभयो– “व्यापार व्यवसाय प्रायः ठप्प  रहेको  छ ।” 

दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास  र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उहाँको भनाइ छ । सुनचाँदी व्यवसायी सङ्घ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ । 

पहिले दैनिक  ५०÷६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १०÷१५ जना मात्रै आउने गरेको उहाँको भनाइ छ । विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिले दैनिक २५÷३० तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक चार÷पाँच तोला मात्रै धौधौ कारोवार हुने गरेको छ । 

मूल्य बढेका कारण खरिद गर्नेभन्दा पनि साटफेर गर्ने, बेच्ने तथा मूल्य सोध्ने धेरै आउने गरेको भन्दै निजी बैंकमा राखिएका सुन खरिद गर्ने व्यापारी नहुँदा अहिले बैंक नै घाटामा जाने अवस्था आएको सङ्घका प्रदेश कोषाध्यक्ष स्वर्णकारले बताउनुभयो । कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको सङ्ख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ । 

कारोबार ठप्प हुँदा घर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ । पहिलेको सुन स्टक राखेकालाई भने मूल्यवृद्धिले त्यस्तो प्रभाव नपार्ने उहाँको भनाइ छ । सुनचाँदीको व्यवसायमा धेरै लगानी हुने गरेकाले अहिलेको अवस्थामा व्यवसायी विस्थापित हुने खतरा बढेको सुनचाँदी व्यवसायी कुलदिप कौशलले बताउनुभयो ।  

अहिले सुन खरिदका लागि काठमाडौँ नै जानुपर्ने अवस्था रहेको भन्दै अब स्थानीय बैंकबाटै नै सुन खरिद गर्ने वातावरण मिलाएमा व्यवसायीलाई सहज हुने समेत उहाँको भनाइ छ । कोरोनाकै कारणले यसवर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि यस्तो समस्या निम्तिएको उहाँको भनाइ छ ।