काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्री रत्नराज बज्राचार्य नियुक्त हुनुभएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिसक्नु भएको छ ।
नेपाल राष्ट्रबैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।
वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंकर सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नुभएको छ ।
उहाँले भाद्र १, २०७७देखि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पदबहाल गर्नुहुनेछ ।
गत मंसिर २०, २०७६ देखिग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।










